जनताको करबाट नगरपालिकाको ‘दारु पार्टी’, नगर प्रमुख मदिरामा मस्त (भिडियोसहित)


असार २६, दमौली । पछिल्लो समय व्यास नगरपालिकाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै नाचेको प्रष्ट देखिन्छ। ब्यानर नै प्रष्ट रुपमा देखिने गरी आएको भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिन्छन्, पवन पौडेलले अन्नपुर्ण पोष्टमा समाचार लेखेका छन् ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेका थिए। दृश्यमा कर्मचारीले वल्ड दरबार ह्विस्की सर्भ गरेको प्रष्टै देखिन्छ।

यसैगरी उक्त भिडियोमा सभाको प्रवेशद्वारकै छेउमा राखिएका ह्विस्कीका भरी बोतलहरु प्रष्ट देखिएका छन्। स्थानीय एक दैनिकले यस विषयमा समाचार सार्वजनिक गरेपछि यसले जिल्लामा तरंग ल्याएको छ।

नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले यसलाई सामान्य घटना भनेर प्रतिक्रिया दिएका छन्। कर्मचारी संयोजनमा भएको बताइएको कार्यक्रमबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएपनि नगरपालिकाले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

तर, यसले जिल्लाभर तरंग भने ल्याएको छ। नागरिकहरुले जनप्रतिनिधिलाई फोन गर्दै घटनाबारे चासो व्यक्त गर्न थालेका छन्। ‘धेरै स्थानीयले फोन गरेर सोधिरहेका छन्,’ एक जनप्रतिनिधिले भने, ‘अब के जवाफ दिने।’

व्यास नगरपालिकामा मदिरा पार्टीका लागि प्रयोग भएका रक्सीका बोतल।

विगतमा पनि सभापछि कार्यक्रम हुने गरेपनि यसपल्ट भने ब्यानरसहित कार्यालय परिसरमै कार्यक्रम गरिएकाले यसले बढी आलोचना खेपेको हो। यसअघि पनि दसैंका बेला मदिरासहितको शुभकामना कार्यक्रम आयोजना गरेपछि नगरपालिकाले आलोचना खेप्नु परेको हो। तर पनि फेरी यस्तै कार्यक्रम कार्यालय परिसरमै हुनुमा कतिपयले कर्मचारीलाई दोष दिएका छन्। ‘यस्ता कार्यक्रम नगरिनु पर्ने हो, एक जनप्रतिनिधिले भने, ‘तर नगर प्रमुखज्यूले पनि यस्ता घटना रोक्न सक्नुपर्थ्यो।’

स्थानीय प्रशासनले यस्ता कार्यक्रम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ।सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट मदिरा सेवनसहितको पार्टी आयोजना गर्नु गैरकानुनी भएको बताए।तर जनप्रतिनिधिले गरेको उक्त कार्यको आलोचना भएपनि कारवाही गर्ने निकाय नहुँदा यसले खासै असर भने नगर्ने देखिएको छ।तर जनप्रतिनिधिले आम नागरिकबाट भने लामै समयसम्म चर्कै आलोचना खेप्नुपर्ने देखिन्छ।

हेर्नुहोस भिडियो:

२६ असार २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको