ओली नहुँदा नेकपाभित्र सुनसान


जेठ २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहनुभएको छ । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सक्नुभएको छैन ।

तर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण जिम्मेवारी बाँडफाँडको काम टुंगो लाग्न सकेको छैन । पार्टीको सचिवालय बैठक बस्ने गरे पनि समय अभाव भएको भन्दै स्थगित हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुने तयारी गरिएको थियो । तर पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मापदण्डको विषयलाई लिएर विवाद चुलिएपछि तयार भएको प्रस्तावसमेत अगाडि बढन सकेन ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी दिने गरी जिम्मेवारी बाँडफाँडको प्रस्तावप्रति नेता नेपाल पक्षले आपत्ति जनाएको थियो । अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो जिम्मेवारी कम दिने गरी अगाडि सारेको प्रस्ताव पनि पारित हुन सकेन । गृहकार्य गरे पनि ४ सय ४१ जना केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडको कुनै निर्णय हुन सकेन ।

प्रचण्डले चाहे बैठक बस्न सक्छ: खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीले समय नदिँदा जिम्मेवारी बाँडफाँडको काम प्रभावित भएको बताउनुभयो । ‘बैठक बस्छ, छलफल पनि हुन्छ तर अध्यक्ष ओलीले समय नदिँदा नेताहरुको जिम्मेवारी बाँडफाँड हुन सकेको छैन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सचिवालयदेखि केन्द्रीय सदस्यहरुलाई भूमिकाविहीन बनाउने काम ठीक भएन ।’ नेता खनालले पार्टीका अर्को अध्यक्ष प्रचण्डले चाहने हो भने बैठक बसेर यसबारेमा छलफल हुन सक्ने बताउनुभयो ।

पार्टी एकतापूर्व दुई अध्यक्षबीच भएको पाँचबुँदे सहमति कार्यान्वय हुनुपर्ने अभिव्यक्ति अध्यक्ष प्रचण्डले दिएपछि नेकपाभित्र नयाँ बहस सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले आलोपालो गर्ने विषयमा थाहा नभएको र उक्त सहमति लागू हुन नसक्ने अभिव्यक्ति दिनुभएको छ । जसको कारण नेकपाका अध्यक्ष प्रचण्ड र पोखरेलबीच शीतयुद्ध सुरु भएको छ । कार्यविभाजनको विषयमा नेताहरु केन्द्रीत हुनुपर्ने भए पनि सचिवालयका नेताहरु आधा–आधा कार्यकाल गर्ने कि नगर्ने भन्ने विषयमा विभाजित भएका छन् ।

२८ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको