आयाक्सले युभेन्टसलाइ बराबरीमा रोक्यो, रोनाल्डोको गोल


चैत २८, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा डच टिम आयाक्स र इटालियन युभेन्टसले बराबरी खेलेका छन् । क्वार्टरफाइनलअन्तर्गत आयाक्सको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको हो ।

युभेन्टसका लागि खेलको ४५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

मैदानको तल्लो भागबाट जुआन कान्सेलोले बक्सभित्र दिएको अग्लो पासमा रोनाल्डोले निकै दर्शनीय हेडिङ गोल गरेर टोलीलाई पहिलो हाफमा ०–१ को अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा आयाक्सका लागि डेभिड नेरेसले गोल गर्दै खेल १–१ बनाए । युभेन्टसका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै उनले निकै दर्शनीय गोल गरेका थिए । त्यसपछि खेलको बाँकी समयभरि दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा टुंगियो ।

अब अन्तिम चारमा जान यी दुई टोलीबीच आगामी अप्रिल १६ मा युभेन्टसको घरमा हुने दोस्रो लेगको खेलबाट टुंगो लाग्नेछ ।

यस खेलमा रोनाल्डोले १ गोल गरेसँगै उनले च्याम्पियन्स लिगमा कूल १२५ गोल पूरा गरेका छन् । उनी च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । यो सिजन उनले कूल ५ गोल गरेका छन् ।

२८ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको