राष्ट्रिय स्वाधीनताको सवालमा सबै राजनीतिक पार्टी एकढिक्का हुनुपर्छ: वैद्य


फागुन २७, काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयलाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले राष्ट्रिय स्वाधीनताको सवालमा सबै राजनीतिक पार्टीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको काठमाडौं जिल्लाले शनिबार आयोजना गरेको ‘देशको स्वाधीनता र नेपालको वास्तविक नक्सा प्रयोगको प्रश्न’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार प्रस्तुत गरेका हुन् ।

महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राष्ट्रियताको विषयलाई प्रमुख मुद्दा बनाउँदै आएको चर्चा गर्दै अहिले कम्युनिस्ट नामको सरकार छ तर राष्ट्रियताको विषय यति गम्भीर र संवेदनशील रुपमा अगाडि आउँदा पनि सरकार चुँ सम्म नबोल्नु बिडम्बना भएको बताए ।

राष्ट्रियताको विषयमा आफूहरु गम्भीर रहेको बताउँदै महासचिव किरणले राष्ट्रिय स्वाधीनताको विषयमा जुनसुकै पार्टी र आस्थाको मान्छे भएपनि एक ढिक्का भएर अगाडि बढ्नु पर्छ भने, “सीमा अतिक्रमण भइरहेको छ, हस्तक्षेप बढिरहेको छ, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकटहरु देखापरिरहेका छन्, त्यसका विरुद्ध सबै पार्टीहरु एकढिक्का भएर लड्नु पर्छ ।”

नेपालमा कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राष्ट्रियताको विषयलाई प्रमुख मुद्दाको रुपमा उठाएको चर्चा गर्दै महासचिव किरणले भने, “कम्युनिस्ट नामको सरकारले अहिले किन राष्ट्रियताको विषयमा बोल्न सकेको छैन, यसको बारेमा हामी सरकारलाई पनि घचघच्याउँछौं, जनतालाई पनि जागृत पार्छौ ।”

२०७५ फाल्गुन २७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको