प्रधानसेनापति थापा आज भारत जाँदै, यस्ता छन् कार्यक्रम


पुस २७, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलोपटक विदेश भ्रमणमा निस्कँदै छन्।

प्रधानसेनापति भएपछि थापा पहिलो विदेश भ्रमणका रूपमा आज भारत जान लागेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा प्रधानसेनापति थापा त्यसतर्फ प्रस्थान गर्दैछन्।

भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम छ। नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मान दिने परम्परा छ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, भारतीय स्थल सेनाका समकक्षी रावत, सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम छ। त्यस्तै उनले साउथ वेस्र्टन कमान्ड जयपुर र सेन्ट्रल कमान्ड लखनऊको समेत भ्रमण गर्नेछन्।

थापाका भ्रमण दलमा उनकी श्रीमती दीपा थापा, उपरथी झंकरबहादुर कडायतलगायत सात जना रहनेछन्। थापा माघ २ गते नेपाल फर्कने कार्यक्रम छ।

२७ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको