अविश्वासपूर्ण त्रासः ओली, प्रचण्ड र नेपाल एकअर्कोसँग नै सशंकित


साउन २५, काठमाडौँ । यो खबर रामकृष्ण अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेका छन । -‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ। सम्हालिएनौं भने सिद्धिन्छौं। पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’
-केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा

-‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपाईं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें। त्यसपछि उहाँले हस्ताक्षर गर्नुभयो। मैले बोलेका कुराबाट कुनै आशंका पैदा भएको छ भने म जिम्मा लिन्छु। तर हामी एकताको कामलाई टुंगोमा पुर्‍याउँछौं। एउटै डुंगामा बसेर झगडा गर्दा हामी सबै डुब्छौं भन्ने थाहा छ ।’
-प्रचण्ड, अध्यक्ष, नेकपा

सत्तारुढ दल नेकपाका दुई ‘पाइलट’ ले बेलाबेला गज्जमजिने आफ्ना सम्बन्धलाई गत असार १६ को संसदीय दलको बैठकमा सुमधुर बनाउन गरेका प्रयत्न हुन्् यी दुई अभिव्यक्ति। त्यसपछिका पार्टी बैठकदेखि अनेक फोरमहरूमा नेकपा ‘जेट’ का दुई पाइलट केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा पनि भावनात्मक कुरा नै दोहोर्‍याउन थालेका छन् सम्बन्ध सुधारका लागि।

तर पनि यी अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय (ओली-प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ। जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन सकिरहेको छैन।

‘अध्यक्षद्वयबीच एकअर्कालाई अहिले विश्वास नगरी धरै पनि देखिन्न। संशयपूर्ण ढंगले अध्यक्षद्वयले एकअर्कालाई विश्वास गरिरहेको अवस्था अहिले छ’ पोखरेल भन्छन्, ‘विश्वास छ भनेर बाहिर देखाउन पनि जरुरी छ। एकअर्काको भूमिकाप्रति एकअर्कामै संशय छ। संशयपूर्ण विश्वासको अवस्थामा ओली-प्रचण्ड सम्बन्ध देखिन्छ।’ (हेर्नुहोस्, पोखरेलको टिप्पणी)

दुई नेताकै सम्बन्धका कारण नेकपा एकता बेलाबेला गज्मजिँदै आइरहेको छ। पार्टी स्कुलिङ विभागको नेतृत्व अहिले त्यही विश्वासको वातावरण बन्न नसक्दा नेताहरूकै बीच जुँगाको लडाइँ बन्न पुगिरहेको छ।

नेताहरूमा हार्दिकता छैन। एकताको बेला जति उत्साहित थिए, नेकपाका दुवैतर्फका नेता-कार्यकर्तामा त्यो उत्साह अहिले मर्दै जान थालेको छ। पुराना कम्युनिस्ट नेता प्रदीप नेपालको भनाइमा, कम्युनिस्ट एकता र जनताले दिएको जनमतको अवसरलाई नेकपा नेतृत्व सदुपयोग गर्न चुकिरहेको छ।

‘नेपालका कम्युनिस्टहरूका लागि अवसर राम्रो थियो र छ पनि। तर त्यसलाई सदुपयोग गरेर जानुपर्ने हो। नेताहरूले त्यसरी सोचेको देखिँदैन। दुवै अध्यक्षले एकअर्कालाई विश्वास गरेर यो अवसरलाई सदुपयोग गरेर जान सक्नुपर्छ’, नेता नेपाल बताउँछन्।

एकअर्कामा आशंका

पार्टी एकतापूर्व नै ओली र प्रचण्डमा अनेक शंका-उपशंका थिए। एकतापछि पनि दुवै पक्ष एकअर्कासँग सशंकित छन्। ओली पक्षले अझै प्रचण्डलाई विश्वास गर्न सकिरहेको छैन। द्वैध सत्ताको अभ्यास (हामी दुई बराबरका छौं भनेर प्रचण्डले भन्ने गरेको अभिव्यक्ति) गर्ने अनि सरकारलाई अस्थिर र अन्योल सिर्जना गरेर आफू केन्द्रीय भूमिकामा देखा पर्न खोज्ने प्रचण्डको भूमिका रहेको ओली पक्षको बुझाइ देखिन्छ। ओली पक्षका एक नेता भन्छन्, ‘प्रचण्डजी बढी नै आफूलाई केन्द्रमा राख्न चाहनुहुन्छ। त्यही कारण अनेक प्रसंग बेलाबेला ल्याउनुहुन्छ र पार्टीमा विवादको वातावरण बनाउन खोज्नुहुन्छ।’

मन्त्रिमण्डल हेरफेरको हल्ला, प्रधानमन्त्री नभएका बेला शीर्ष नेताहरूको गोप्य बैठकदेखि भेनेजुएला प्रकरण र पछिल्लो समय आलोपालो सरकारको नेतृत्वका विषयलाई सार्वजनिक टिप्पणीमा ल्याएर प्रचण्डले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको ओली पक्षका ती नेताको बुझाइ छ।

आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको बेला झम्सिखेल बैठक गरेको र आफूलाई घेराबन्दी गर्न खोजेको आशंका पनि ओलीले प्रचण्डप्रति गरेका थिए। झम्सिखेल बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागी थिए। त्यसले पनि ओलीको मनमा चिसो पस्यो। त्यसलगत्तै भेनेजुएला प्रकरणमा प्र्रचण्डले वक्तव्य दिए। त्यस प्रकरणमा ओलीले नेपालस्थित अमेरिकी दूतावासको समेत चासोको सम्बोधन गर्न बाध्य हुनुपर्‍यो।

जेठ दोस्रो साता नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन ओली दिल्ली जानै लाग्दा प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकतापूर्वको लिखित समझदारीको प्रसंग कोट्याए। त्यसपछि त्यो समझदारी पत्र नै बाहिरियो। यसले पनि ओलीलाई झस्काएको उनीनिकट नेताहरूको टिप्पणी छ। ‘प्रधानमन्त्रीलाई लागेको छ, ‘माधव नेपाल र वामदेव गौतमलाई लिएर आफूविरुद्ध प्रचण्डले खेल्न खोजेका छन्’, ओलीनिकट ती नेता बताउँछन्।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल दुई साताअगाडि नेपाल आए। प्रधानमन्त्री र प्रचण्ड दुवैले भेटे। तर ओलीले प्रचण्डसँग र प्रचण्डले ओलीसँग आआफूले गोयलसँग गरेको भेट लुकाउने प्रयास गरे। एकले अर्कोलाई भेटेको भन्दै तीव्र प्रचार प्रतिस्पर्धा गरे। अन्ततः दुवैले भेटेको पोल खुल्यो। यो एउटा एकले अर्कोलाई गर्ने आशंकाको पछिल्लो प्रतिनिधिमूलक घटना थियो।

ओलीको सिंगापुर ‘फलोअप’ उपचार भ्रमण र प्रचण्डको पारिवारिक दुबई भ्रमण दुवै पक्षले एकअर्का पक्षलाई शंकाले हेर्ने भ्रमण बन्न पुगेको छ। ओलीले कसलाई भेटे ? दाहालले कसलाई भेटे ? यस्तै शंकाको सम्बन्धमा ओली र प्रचण्ड सम्बन्ध देखिएको छ।

राजनीतिशास्त्री प्राध्यापक पाखेरेल भन्छन्, ‘कोही कसैलाई एउटाले भेट्यो भने अर्को सशंकित हुने, अर्कोले भेट्यो भने अर्को सशंकित हुने अवस्था पनि नेकपाका अध्यक्षद्वयका बीचमा यदाकदा देखिन्छ। यसले विश्वास धुमिल बनाउँदै लगेको छ।’

त्यसो त, प्रचण्ड पनि ओलीसँग उत्तिकै झस्किएका छन्। चुनावका बेला ६०÷४० को भागबन्डा लगाइए पनि निर्वाचनपछिको परिणाममा ७१÷२९ को अवस्था रहेको भन्दै ओलीले पार्टी एकताको भागबन्डामा त्यहीअनुसार गर्न खोजेकोमा प्रचण्ड झस्किएका थिए।

सहमतिकै आधारमा पार्टी महाधिवेशन गर्ने वचनबद्धता र सरकारको आलोपालो नेतृत्वको विषय ओलीले कार्यान्वयन गर्नेमा प्रचण्ड सशंकित देखिएका छन्। सरकार सञ्चालनमा ओलीले एकलौटी निर्णय गर्ने, पार्टीमा छलफल नगर्ने र पार्टी नेताहरूले दिएका सल्लाह र सुझाव पनि ग्रहण नगर्ने गरेको भन्दै प्रचण्ड ओलीसँग असन्तुष्ट छन्।

सहमतिअनुसार नै अध्यक्ष ओलीले पार्टी बैठकको अध्यक्षता पनि प्रचण्डलाई गर्न नदिई ‘ह्युमिलेसन’ गर्न थालेको बुझाइ पूर्वमाओवादी समूहको देखिन्छ। स्थायी समिति सदस्यसमेत रहेका नेता हरिबोल गजुरेल प्रचण्डलाई ओलीले अध्यक्ष नै नस्वीकारेको जस्तो देखिएको सार्वजनिक रूपमै बताइरहेका छन्।

‘पार्टी एकतापछि प्रचण्डलाई ह्युमिलेट (अपमानित) महसुस भयो। बैठकको अध्यक्षता आलोपालो गर्ने भन्ने थियो। तर, ओलीले कहिल्यै बैठकको अध्यक्षता गर्न दिनुभएन।’ गजुरेल भन्छन्, ‘प्रचण्डलाई ‘यसपालि अध्यक्ष तपाईंले गर्नुहोस् न’ भनेको सुनेनौं। लगातार आफैंले गर्दै आउनुभयो। अध्यक्षबीचमा जुन अनौपचारिक सहमति (आलोपालो बैठकको अध्यक्षता गर्ने) भएको थियो, त्यो पालना नहुँदा प्रचण्डलाई बेवास्तामा परेको अनुभूति भयो। एक किसिमले भन्ने हो भने प्रचण्डको भूमिका सहअध्यक्षको जस्तो मात्रै देखियो। यो एकताको मर्मविपरीत भयो। त्यसले प्रचण्डको मनमा चिसो पस्नु स्वाभाविकै हो।’

सरकार बनेको १८ महिना पुगिसक्दासमेत द्वन्द्वकालीन मुद्दा किनारा लगाउन ओलीले अग्रसर नदेखाएको भन्दै सशंकित देखिएका छन् प्रचण्ड।

छैन भावनात्मक सम्बन्ध !

३ जेठ २०७५ यता पार्टी एकताकै १५ महिना बितिसकेको छ। तर पनि तत्कालीन पार्टीका नेता र कार्यकर्ताका बीचमै भावनात्मक सम्बन्ध कायम हुन सकेको छैन। पार्टी बैठक बस्न नसक्नु, एकता प्रक्रिया लम्बिनु र एकअर्कामा मुद्दाका आधारमा बहस गर्न नपाउनुले पनि नेता र कार्यकर्तामा भावनात्मक एकता नदेखिएको हो।

नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पार्टीभित्र एजेन्डामा बहसको वातावरण नबन्दासम्म चाहेर पनि नेता र कार्यकर्ताका बीचमा अतरघुलन हुन नसक्ने बताउँछन्। ‘तत्कालीन दुवै पार्टीका कयौं नेताहरू एउटै मुद्दामा उभिने अवस्था जबसम्म आउँदैन, तबसम्म भावनात्मक एकताको वातावरण बन्ने देखिरहेको छैन’ न्यौपाने भन्छन्, ‘मुद्दामा पूर्ववत् पार्टीको छापबाट बाहिर निस्किएर जब नयाँ समीकरण बन्न खोज्छ तब मात्र त्यसले भावनात्मक एकतालाई अलिकति वातावरण निर्माण गर्छ। यसका लागि समय लाग्छ।’

भावनात्मक एकताका लागि दुवै पार्टीका विगत इतिहासलाई कसरी मूल्यांकन गरिएको छ भन्ने कुराले पनि अर्थ राख्ने कतिपय नेकपाका नेताहरूको तर्क देखिन्छ। तत्कालीन पार्टीले मनाउँदै आएका राष्ट्रिय कार्यक्रमलाई हार्दिकतापूर्वक अझै एकअर्को पक्षले पचाउन सकेका छैनन्। माओवादीतर्फका कार्यक्रममा अलिक बढी त्यस्तो देखिएको छ। रितबहादुर खड्का स्मृति दिवस, सेन स्मृति दिवस, जनयुद्ध दिवसलगायत माओवादीतर्फका कार्यक्रमलाई तत्कालीन एमाले पंक्तिले उपेक्षा गरेको देखिन्छ। त्यस्तै, एमालेतिरका कार्यक्रमलाई माओवादी पंक्तिका नेता र कार्यकर्ताले।

यसले पनि भावनात्मक एकता बनाउनेभन्दा बिगार्नमै बल पुर्‍याइरहेको देखिन्छ। ओली र प्रचण्ड दुवैका आकाक्षा सिंहदरबार हो। वाम गठबन्धन बनाएर चुनावमा नजाँदासम्म एकले अर्को पक्षलाई सिंहदरबार प्रवेशमा सजिलै अवरोध पुर्‍याउन सक्थे। त्यही धरातलीय वस्तुगत अवस्था बुझेरै ओली-प्रचण्डले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्म गरेका हुन्।

एकतापछि दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपाको शक्ति नेतृत्वले परिचालन गर्न नसकेको कतिपय नेताहरूकै गुनासो देखिन्छ। नेकपाका स्थायी समिति सदस्य मणि थापा भन्छन्, ‘शक्ति सत्तामा रहनका लागि होइन कि रूपान्तरणमा केन्द्रित हुनुपथ्र्यो, पार्टी शीर्ष नेतृत्वले रूपान्तरणमा लैजाने गरी सोचेको देखिएको छैन।’

यी चार कारण : जसले अझै देखिएन भावनात्मक एकता

मुद्दामा नयाँ समीकरण नवबेका कारण

भावनात्मक एकता बनिबनाउ हँुदैन, त्यसले एउटा प्रक्रियाको माग गर्छ। सहकार्यको माग गर्छ। कानुनले भनिदिएर वा पार्टी विधानले भनेर मात्र पनि ततकालीन एमाले र माओवादीका नेता र कार्यकर्ताका बीचमा भावनात्मक एकता हुँदैन। यसनिम्ति अलिकति समय चाहिन्छ, सहकार्य बढाउनुपर्छ। तत्कालीन दुवै पार्टीका कयौं नेताहरू एउटै मुद्दामा उभिने अवस्था आउँदैन, तबसम्म भावनात्मक एकताको वातावरण बनाउँदैन। मुद्दामा पूर्ववत् पार्टीको छापबाट बाहिर निस्किएर जब नयाँ समीकरण बन्न खोज्छ तब मात्र त्यसले भावनात्मक एकतालाई अलिकति वातावरण निर्माण गर्छ।

इतिहासको मूल्यांकनका कारण

भावनात्मक एकतासँग तत्कालीन दुवै पार्टीको इतिहासको मूल्यांकनको विषय पनि सँगै जोडिएर आउँछ। त्यसको मूल्यांकन कसरी गर्ने ?जनयुद्धलाई पूर्वएमालेहरूले कसरी बुझ्ने र झापा आन्दोलन या ०४७ सालदेखि ०६२ सालसम्ममा एमाले सरकारमा बसेर संविधान कार्यान्वयनका सवालमा उसले खेलेको भूमिकालाई कसरी बुझ्ने ? भन्ने विषय इतिहासको समीक्षासँग जोडिन्छ। इतिहासको समीक्षा गर्दा वस्तुगत समीक्षा आवश्यक पर्छ। नेकपाभित्र अझै पनि यो विषयको समीक्षामा पूर्वाग्रही संस्कृति छ। पूर्वाग्रहले शिक्षा लिन पनि दिँदैन र राजनीतिलाई भावनात्मक एकता र राम्रो सहकार्य गरेर अगाडि जान पनि दिँदैन।

नेताहरूका स्वभाव र कार्यशैलीका कारण

नेताहरूका आआफ्ना शील र स्वभाव छन्। उनीहरूका कार्यशैली पनि फरक छन्। कुनै पनि विषयवस्तुमा कुनै नेताले अलिक नरम टिप्पणी गर्छन्, कुनैले कडा खालको। नेकपाका शीर्ष नेताहरूमै कुनै विषयमा टिप्पणी गर्ने स्वभाव र कार्यशैली फरक छ। कसैले विरोध नै गर्दा पनि अलिक शालीनतापूर्वक गर्छन्, कसैले कडा रूपमा एकले अर्को पक्षलाई पचाउनै नसक्ने, सुन्नै नसक्ने गरी विरोध गर्छन्। नेतृत्वमै रहेका नेताहरूले कसरी बोल्छन् भन्ने कुरा पनि भावनात्मक एकताको वातावरण निर्माणमा महŒवपूर्ण हुन्छ। जस्तो कि जनयुद्धका बारेमा टिप्पणी गर्ने सवालमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अलिक छुद्रतापूर्ण अभिव्यक्ति छ भने एमालेका कतिपय पक्षमा अर्का अध्यक्ष प्रचण्डकै पनि खरो टिप्पणी देखिन्छ। यसले पनि कहीं न कहीं प्रभाव पारेको छ।

संगठनात्मक अवस्थाका कारण

-संगठनात्मक भागबन्डाका कारण पनि कतिपय अवस्थामा भावनात्मक एकतालाई टाढा बनाइरहेको हुन्छ। नेकपामा केन्द्रदेखि जिल्ला तहसम्मका हरेकजसो कमिटी गठन गर्दा भागबन्डाकै आधारमा भएको छ। भागबन्डाका आधारमा हेर्दा एमाले दाइ र माओवादी भाइ बन्ने वातावरणका आधारमा भागबन्डा भएको छ। चुनावमा ६०-४० प्रतिशत भागबन्डा गरेको तत्कालीन एमाले र माओवादीमा चुनावपछि अहिले ७१-२९ प्रतिशतको भागबन्डाको आवाज बेलाबेलामा उठेको छ।

संगठनात्मक हिसाबले मात्र हेर्दा ठूलो दाइ र सानो भाइको मान्यता स्थापित भयो। नेकपाकै विद्यार्थी संगठन त्यसको एउटा उदाहरण छ। एमालेतर्फका विद्यार्थीका महासचिव रहेका नेता एकतापछिको संयोजक र माओवादीतर्फका विद्यार्थीका अध्यक्ष सहसंयोजक बन्ने गरी संगठनात्मक एकता भयो। यसले भावनात्मक एकतामा नकारात्मक वातावरण बनाएको छ। एउटा पक्षले बनाएको कार्यक्रम अर्को पक्षले अझै बहिष्कार गर्ने प्रचलन अखिलमा देखिँदै गएको छ।

(नेकपाका विभिन्न नेताहरूसँग अन्नपूर्ण पोष्टका लागि रामकृष्ण अधिकारिले गरिएको कुराकानीमा आधारित)

२५ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको