चैत २७, बेनी । स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव समापन गर्न आयोजकलाई निर्देशन दिएको छ। ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले ११ औ वार्षिकोत्सवको अवसरमा चैत २३ देखि बैशाख १ गतेसम्मका लागि बेनीको खुल्ला मञ्चमा महोत्सव सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार चैत २७ गतेसम्म दिइएको समयसीमा समापनका लागि एक दिन थप गरेको र चैत २९ गतेदेखि अनुमतीबिना मेलासम्बन्धी कुनै पनि कार्यक्रम नगराउन निर्देशन दिएको हो।
सहायक प्रजिअ महेश सुवेदीद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘पूर्ववत तोकिएका सर्तहरु पालना गरी २०७५-१२-२८ मा मेला समापन गर्नका लागि एक दिन अतिरिक्त समय उपलब्ध गराएको जानकारी गराइन्छ’ ।
‘शान्ति सुरक्षा कायम गर्न र विकृति नियन्त्रणका लागि मेला समापन गर्न आयोजकलाई पत्र पठाएका हौं, ‘प्रजिअ लीलाधर अधिकारीले भने, ‘आयोजकले सर्त विपरित शान्ति सुरक्षामा खलल पुग्ने र विकृतिलाई प्रसय हुने कार्यक्रम गरेकाले बिहीबार समापन गर्न निर्देशन दिएका हौं।’
चैत २१ गतेदेखि सुरु हुने भनिएको महोत्सव जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकायको आग्रह भन्दै आयोजकले दुई दिन पछि २३ गते सुरु गरेका थिए। महोत्सव सञ्चालनका विषयमा आयोजक, प्रशासन, उद्योग वाणिज्य संघबीच यसअघिनै विवाद देखिएको थियो।
बैशाख १ गते सम्मका लागि कार्यक्रम तय भइसकेकाले बीचैमा महोत्सव समापन गर्न नसकिने मुल आयोजक समितिका संयोजक चिरञ्जिवी शर्माले बताए। ‘शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको महोत्सवप्रति गलत बुझाइका कारण समस्या भएको हो,’ शर्माले भने, ‘तय भइसकेको कार्यक्रम पूरा गर्न प्रशासनसँग छलफलमै छौं।’
११५ वटा व्यापारिक स्टल, रमाइलो मेला सञ्चालन भएको महोत्सवमा, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तूति, खुल्ला लोकदोहोरी गीत र म्याग्दी डान्स आइडल (एकल नृत्य) प्रतियोगिता आयोजना गरिएको छ।
प्रतिक्रिया दिनुहोस