संसारमै नभएका दुई सुनाखरी प्रजाति नेपालमा


चैत्र २७, काठमाडौँ । संसारमै काहीँ नभएको सुनाखरीको दुई जातका नयाँ प्रजाति नेपालमा पाइएको छ । सुनाखरीको प्रक्रियागत विकासक्रमबारे अध्यन–अनुसन्धान गर्दै आएका डा. भक्त रासकोटीले यी नयाँ प्रजाति डोटी जिल्लाको २२ सय मिटर उचाइमा रहेको वागालेक र पाल्पाको १५ सय मिटरमा रहेको मुझुङ डाँडोमा हालै पत्ता लगाएका हुन् ।

रासकोटीको सोध–अनुसन्धानलाई न्यूजिल्याण्डबाट प्रकाशित हुने वनस्पतिजन्य अर्न्तराष्ट्रिय जर्नल ‘फाइटोट्याक्सा’ले समेत प्रकाशित गरेको छ । यो जर्नल ‘वनस्पतिमा नयाँ जातको वैज्ञानिक र प्रमाणिक आधारमाथिको दस्ताबेज’ हो ।

रासकोटीले डोटीमा पाइएको सुनाखरीलाई ‘क्यालेन्थी हिमालइका’ र पाल्पामा भेटिएको सुनाखरी प्रजातिलाई ‘हेवनरिया पाल्पेन्सिस’ नामकरण गरेका छन् । ‘वनस्पति जगत्को सोध–अनुसन्धानका दृष्टिमा यो सिङ्गो देशले गर्व गर्ने उपलब्धि हो,’ रासकोटीले कान्तिपुरसँग भने । नेपालमा अहिलेसम्म ५०२ जातका सुनाखरी पाइएका छन् ।

संसारभरमा भने बढीमा २५ हजार जातका सुनाखरी छन् । रासकोटीले आफ्नो अध्ययन क्रममा नेपालका लागि नयाँ हुन सक्ने १६ जातका सुनाखरीको पहिचान गरिसकेका छन् ।

२७ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको