फागुन २६, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा फागुन २४ गते भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघले निन्दा गरेको छ ।
व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन नसक्ने महासंघले जनाएको छ।
‘एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको छ। राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ।
यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछ’ महासंघले भनेको छ।
अतः मुलुकका विभिन्न भागहरूमा निजी क्षेत्र लक्षित चन्दा आतंक तथा आक्रमण जस्ता गतिविधिहरू बढ्न थालेको महशुस हुन थालेक बताउँदै यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन महासंघले नेपाल सरकार समक्ष माग पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस