बार्सिलोनाको जितमा मेस्सी, पीके र स्वारेजको गोल


एजेन्सी/फाल्गुन २६, काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलको शीर्ष टोली बार्सिलोनाले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलले हरायो ।घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि स्टार खेलाडीहरु जेरार्ड पीके, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे ।

रायो भालेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए ।खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो । २४औं मिनेटमा राउल डी टोमसले पहिलो गोल गरे । त्यसपछि जोसिएको बार्सिलोनाका लागि ३८औं मिनेटमा पीकेले बराबरी गोल फर्काए ।५१औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडी बढाए ।

जारी सिजन ला लिगामा मेस्सीको यो २६औं गोल हो । ८२औं मिनेटमा स्वारेजले अर्को गोल गर्दै टोलीको जित सहज बनाए ।जितसँगै बार्सिलोनाले २७ खेलबाट ६३ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा सात अंकले अगाडी छ ।

२३ अंक बनाएको रायो भालेकानो रेलिगेसनको मारमा छ ।यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० गोलले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोको जितमा सउल निग्वीजले ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २७ खेलबाट ५६ अंक बनाएको छ । ३३ अंक बनाएको लेगानेस १३औं स्थानमा छ ।

अर्को खेलमा चोथौं स्थानमा रहेको गेटाफेले एसडी हुइस्कालाई २–१ गेलले हरायो । जितसँगै गेटाफेले २७ खेलबाट ४५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलबाट ४८ अंक पुगेको छ । अन्तिममा रहेको हुइस्काको २२ अंक छ । इबर र डिर्पोटिभो अलाभेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

२०७५ फाल्गुन २६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको