जनसंख्या, भूगोल र दूरीको आधारमा बजेट विनियोजन नभएकोमा आक्रोश


कर्मसही घर्ती मगर/फागुन २६, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकमा पाँचौं गाउँसभा शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष ओम प्रसाद घर्तीको अध्यक्षतामा शुरु भएको गाउँसभाको सञ्चालन प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले गरेका थिए । गाउँसभामा गाउँपालिकाको पुरक बजेटको बारेमा विनियोजन भएको रकमलाई लिएर सबै वडाका सदस्यहरूले आ-आफ्ना कुरा राखेका थिए ।

गाउँसभा सदस्यहरूले आगामी बजेटमा जनसंख्या, भूगोल, दूरी, यातायात पुगेका र नपुगेका वडामा गरि फरक दंगले सम्बोधन गरिनु पर्ने कुरामा जोड दिए । सबैलाई एकै खालको बजेट हुँदा ठूला र साना वडाहरूमा निकै प्रभाव परेको कुरा उनीहरूले बताए ।

वडा नं ४ का अध्यक्ष वर बहादुर पुनले यातायात पुगेको ठाउँमा ५ लाखले पुग्ने बजेट यातायात नपुगेका टाढाका वडाहरूमा ७ लाख जति लाग्ने भएको हुँदा त्यही अनुसारको बजेटमा ध्यान दिन आवश्यक रहेको कुरा बताएका थिए ।

वडा नं ५ का सदस्य लक्षिण कुमार पुनले यातायात नपुगेका ठाउँहरूमा बजेट कम भएको पीडालाई पुरक बजेटले पनि निराश बनाएको भन्दै आक्रोश पोखे ।

पालैपालो बोल्ने क्रममा ७ नं वडा अध्यक्ष हेमजङ घर्तीले आगामी बजेटमा जाङ चारगाउँ सडक निर्माणमा जोड दिन सबैसँग आग्रह गरे । वडा नं ९ का अध्यक्ष सुर बहादुर रोकाले जनप्रतिनिधि नै ठेकेदार हुने मनसाय त्याग्नु पर्ने कुरामा जोड दिए । उनले व्यंग्य गर्दै भने -‘प्रतिनिधि आफै ठेकेदार हुने भए उपभोक्ता किन चाहियो ? जनता किन चाहियो ?”

वडा नं १२ का सदस्य गंगा पुनले जनसंख्या र भाैगोलिक विकटताको आधारमा रकम विनियोजित हुनु पर्ने कुरा बताए । वडा नं १३ का सदस्य तेजेन्द्र घर्तीले उपभोक्ता वर्ग पनि वडा अध्यक्षहरूले मनोमानी दंगमा आफ्नै मान्छेहरू मात्र राखेको आरोप लगाए । उनले सदरमुकामको बारे पनि गाउँसभाले एउटा निर्णय गर्नु पर्नेमा जोड दिए ।

यसैगरी वडा नं १४ का अध्यक्ष हर्क बहादुर बुढाले गुरु योजना अनुसार बजेट विनियोजित नभएको बताए । उनले भने -‘गुरु योजना अनुसार बजेट विनियोजन नहुने भए बीस लाख खर्च गरेर बनाएको गुरु योजना बनाउनुको औचित्य छैन ।”

प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष भिम बहादुर मल्लले कार्यपालिकाले विभिन्न शिर्षकमा विनियोजित गरेको बजेटको बारेमा प्रष्ट पारेका थिए । उनले भर्खर मात्र गाउँपालिका केन्द्रको टुङ्गो लागेकाे र आगामी दिनमा गाउँपालिकाका कामहरू बिधिवत् रूपमा निरन्तर अगाडि बढ्ने कुरा बताएका थिए । गाउँसभा आज पनि बस्ने छ ।

२६ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको