प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो: पौडेल


माघ २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे ।

उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे ।

उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

नेता पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गरे । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’

२७ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको