२४औँ जनयुद्द दिवस: ‘लडाउनेहरु सत्तामा लड्नेहरु खाडीमा’


टिकाराम वली (पुर्ब जनमुक्ति सेना) । २१औँ शताब्दीको बैज्ञानिक जनवादको सुरुवात भएको दिन हो ‘फागुन १’ । जुन आज २४औँ जनयुद्द दिवस बनेको छ । यसलाई माओबादी घटकहरुले नेपालको राष्ट्रिय राजनीतिकमा नयाँ युगको सुरुवात भएको दिन मान्छन । माओवादी बिचारमा आस्था राख्नेहरुले यसरि नै ग्रहण गर्दै आएका छौ ।

२४औँ जनयुद्द दिवसको संघारमा आइपुग्दा अहिले परिस्थिति फेरिएको छ, सडकका मानिसहरू सत्तामा आसिन भएका छन् । आमूल परिवर्तनको मुद्दा आज सामान्य सुधारमा टुंगिएको छ । सत्तामा पुगेका माओबादिहरुले जनयुद्द दिवस मनाए पनि उनीहरुलाई यो दिबसले खासै तात्विक अर्थ भने राख्दैन सम्भबत: उनीहरु मध्ये कसैले यो दिबस नै मनाउन छाडी सकेका छन् ।

सडकमा भने जनयुद्दको स्मरण गर्नेहरु अझै छन् । दस बर्ष महान जनयुद्ध, जनमुक्ति सेना, घाइते अपांग, सहिद र बेपत्ताहरुको सपना, बिचार राजनीति र दर्शनमा कुठाराघात भएको छ ।

हिजो संगै लडेका माओबादीहरु चार चिराभै चार दिशामा छन । एकातिर २१औ शताब्दीको जनवादी व्यवस्थाको सपना चक्नाचुर भएको छ । आर्कोतिर एकीकृत क्रान्तिको संखघोस भएको छ ।

युवा साथीहरू पुरानो जनमुक्ति सेना समायोजन भएको संगिन समय र नयाँ जनमुक्ति सेना फर्मेसन तयारी हुनु पुर्ब महानत्याग, बलिदान र जीवन उत्सर्गका ती महान र गौरवशालि दिनहरू फर्केर हेरौ भने कैयौं दुख, पीडा, अफ्ट्यारो, बिपत्ति आँसु र रगतमा कोरिएका त्यागी समर्पणहरु भेटिन्छन ।

आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरि सयौं पटक मृत्युुलाई जित्दै, कहिले जित त कहिले हारहरु सामना गरेका क्षणहरुले झस्काउ छन् । मुक्तिको गित गाउँदा आँसुले भिजेका रक्तरंजित यात्राहरु कोरिए । कहिले हिमाल संग माया गाँस्यौ, कहिले तराई संग नाता जोडेका थियौ, अनि पहाड संग मितेरी गाँस्यौ ।

राष्ट्र र जनताको लागि गरिएको महान जनयुद्ध, जनमुक्ति सेनाको त्यो फर्मेसन, बर्गीय साइनो भित्र भेटिएको त्यो मीठो साथ, बोली बचन अनि कमरेडको समाजवादी दस्तावेज ! यी सबै कति अटल र सुन्दर थिए । कति प्रतिबद्ध थिए। सम्झिदा आज सपना जस्तो लाग्छ।

भीषण जनयुद्ध पछि युद्द बिराम, शान्ति सम्झौता, क्यान्टोनमेन्टको बसाई र अबकास देखी अहिले सम्म आउँदा प्रचण्ड पथ एउटा काल्पनिक कथा जस्तै लाग्छ ।

समयले कोल्टे फेर्‍यो…! साधारण अर्थमा भन्ने हो भने मान्छेहरुका सोच्ने तरिका र जिउने शैलीहरु फेरिए ! समय सङ्गै राजनैतिक भाषामा कार्यदिशा र कार्यशैलीहरु फेरिए र फेरिए जनयुद्ध कालिन संस्कार, सस्कृती र मूल्य मान्यताहरु ।

अहं..! कहि, कतै पनि भौतिक रूपमा बाँकी रहेनन जनयुद्ध कालिन उपलब्धिहरु । आज हामी संग नत जनमुक्ति सेना रह्यो, नत हतियार नै ! नत रह्यो जनताका लागि फैसला गर्ने जन अदालत, नत रह्यो जन सत्ता ।

अनि फेरी जुट्नु परेको छ निर्माण गर्न जनअदालत, जहाँ जनताको जनसरकार हुनेछ, जसले बैज्ञानिक समाजको प्रतिनिधित्व गर्नेछ ।

परिवर्तन हुनु राम्रो कुरा हो तर उल्टो परिवर्तन हुनु धोका हो । २४औं जनयुद्द दिवसको ढोकामा उभिदा त्यही ‘धोका’ बाहेक हामीसंग केही छैन ।

यतिबेला हामी दुखित छौँ । दुखित मात्र होईन, प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिहरु हासिल गर्न नयाँ शिराबाट माओवादी आन्दोलनलाई सुदृढ गर्न चिन्तित पनि छौ ।

जनयुद्ध त एउटा आस्था हो, बिचार हो, सिद्धान्त हो र मार्गदर्शक हो । जुन कहिल्यै मर्दैन । बदलिएको परिवेशमा पार्टीले अनुसरण गरेका तात्कालिक राजनैतिक कार्यदिशाबाट असन्तुष्ट रहि भूमिकाका हिसाबले हामी कोही राजनैतिक रङ्गमञ्चबाट दर्शकदिर्घामा ओर्लिएका हौला । कोहि दर्शक दिर्घाबाट मञ्चमा प्रवेश गरेका हौला वा कोहि यथास्थानमै रहेका हौला ।

जो जहाँ र जस्तोसुकै अबस्थामा रहे पनि हाम्रा मन, मस्तिष्कहरुमा जनयुद्ध सकिएको छैन । रोकिएको पनि हैन । हाम्रो मुक्तिको अबिराम यात्रामा लिएर २४औं जनयुद्ध दिवसको घडीमा उभिएका छौ ।

यहि अवसरमा शुभकामना आदानप्रदान गर्दै, हाम्रा भत्किएका र कुँजिएका मनहरु अनि टाढिदै गएका सम्बन्धहरु सुदृढ गर्ने जमर्को गरि रहेका छौं । हामीले अङ्गालेका जनयुद्ध कालिन सस्कार, सस्कृती र मूल्य मान्यताको निरन्तरता सङ्गै नयाँ आधारमा नयाँ एकताका लागि नयाँ सुरुवातको खाचो महसुस गरि रहेका छौँ ।

अपेक्षा गरौँ, आगामी बर्षहरुमा देश क्रान्तिकारीमय हुनेछ । फेरिपनी सबैले गर्वित महसुस गर्ने बाताबरण सिर्जना हुनेछ । हाम्रा एजेन्डाहरु स्थापित हुँदै जानेछन् । इतिहासले मागेको योगदान दिन तयार छौ, जहाँ बिभेद छ, त्यहाँ रगतको रातो जबाफ दिन तयार छौ ।

शासकहरु बादसाहा बन्छन् भने, घोडाबाट खसाल्न बलिदानको रातो झन्डा बोक्न तयार छौ । सहिदको रगतले लेखिएको गणतन्त्र र सविधानलाई तानाशाहहरुको हित अनुसार चलाउने हो भने, वर्गसंघर्षको नयाँ एजेन्डा उठाउने छौ । क्रान्ति त्यो हो, जतिबेला जनता दविएका हुन्छन् र राष्ट्रको स्वभिमान खतरामा हुन्छ, त्यहि बेला प्रयोग हुने हतियार हो ।

तर क्रान्ति एक जटिल प्रक्रिया पनि हो, चाहेर हुदैन, नचाहेर हुन्छ । जो राज्यसत्ताको दुश्मन पनि हो । हिजो एउटा क्रान्ति उठ्यो जसको अभिभारा आमुल परिवर्तन थियो । सिमित केहि व्यक्तिलाई परिवर्तन दियो । हामीले बर्गिय मुक्ति खोजेका थियौ तर दिन सकेन । यस्को लेखाजोखा इतिहासले गर्ला ।

सर्वहारा बर्गको उन्नति, प्रगति र समृद्धि नै क्रान्तिको आत्मा हो, प्राण हो ।

लडाउनेहरु सत्तामा लड्नेहरु खाडीमा

हत्केलामा ज्यान राखेर बन्दुक र झोला बोक्नेहरु खाडीमा छन् । लाखौं जनताको समर्थन हजारौं योद्धाको बलिदान हजारौं योद्धा घाइते हजारौं युवाको सहभागीताले आर्जेको गणतन्त्रलाई सडकबाट सत्ता देख्नेहरुले खेलवाड गरेपछि क्रान्तिको बाटो हिड्नेहरु खाडी पुगेका हुन् ।

सर्वहारा बर्गलाई जताततै अलपत्र पारेर सत्तामा रमाउने कसैलाई कुनै अधिकार छैन । यहाँ सहिद परिवार रोएका छन् । घाइतेहरुले आत्महत्या गर्नुपर्ने अबस्था आएको छ, अपाङ्ग जिबन बोकेका पुर्ब लडाकुहरु अलपत्र छन् । क्रान्तिको भट्टीबाट उद्देलित प्रशिक्षणबाट पाएको बिचार, दर्शन, आस्था र सिद्धान्त सडकबाट धारिलो भएको छ । सान लगाई रहेको छ । सुसज्जित हुँदै छ ।

यतिबेला मनमा धेरै प्रश्नले जुहारी खेलेको छ । हाम्रो नेतृत्वहरु एक ढिक्का भएर सर्वहारा बिचार बोकिरहेको भए । जनताको दुख सुखमा मलम लगाएको भए, हामी बिच सडकमा बसेर रुनु पर्ने थिएन ।

जनसत्तालाई बालुवाटार लगेर गाडिएसँगै हाम्रा हातका हतियार र बर्दी खोसिए संगै हामी बिच बाटोमा बसेर रोएका छौ । शरीर भरी बम र गोली घाउ बोकेर विदेश पलायन हजारौं योद्धाहरुको आँखा रसाएको छ ।

आमूल परिवर्तनको लागि भन्दै बन्दुक बोकेको कमाण्डरहरु सडक देखी सदन, झुपडी देखी दरबार पुग्दा सदस्यहरु खाडीमा पसिना बगाउनु पर्दाको पिडा आगोमा परिणत हुँदैछ । जुन संसदीय व्यवस्थाका लागि बलिदानीपूर्ण लडाई लडे उनैलाई आज देशबाट बेच्ने कार्य भएको छ ।

हिजो संसदीय व्यवस्थालाई दुस्मन देख्नेहरुले आज त्यहि व्यबस्थाको मालिक बन्दा परिवर्तनको बाटो नै संसदीय ब्यबस्था देखिरहेका छन् । यो नै महाभुल हो । लडाउनेहरु सत्तामा लड्नेहरु खाडीमा हुने यो कुन परिवर्तन हो ? यसको जबाफ खोज्नेहरु लाम लागि सकेका छन् ।

सत्य लुकाएर कहिलै लुक्दैन । क्रान्तिले खोजेको परिवर्तन यस्तो होइन । क्रान्तिले खोजेको परिवर्तन कमान्डरहरु मात्रै राजधानीको चिल्लो बाटोमा चिल्लाकार गुडाउने थिएन । आलिसान महलमा नोकर राखेर चाकडी गराउनु थिएन । एमाले संग मिलेर सर्बहारा बर्गलाई लुट्ने लुटाउने थिएन ।

छातीमा हात राखेर सत्य बोल्नु पर्छ । हिजो शिक्षा दीक्षा लिन छोडेर कामरेडको युद्दमा होमिएका युवतीहरु आज लुकी छिपी देह व्यापारमा लाग्नु पर्ने स्थिति आयो । विदेश बेचिनु पर्ने स्थिति आयो । हिजो जग्गा ब्यापारीहरुको घांटी छिनाउन हिडेको कामरेड आज जग्गा दलाल भएको छ । मानव बेचबिखनका बिरुद्द लडेको कामरेड आज मानव तस्कर म्यानपावर खोलेर बसेको छ । हिजो गाउबाट भ्रष्ट ठेकेदारहरुलाई लखेट्ने कामरेड आज लुट्ने ठेकेदार बनेको छ ।

के यसैका लागि थियो महान क्रान्ति ?

२०७५ माघ २७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको