‘द ग्रेट पृथ्वीनारायण शाह’ [भाग -२]


पुरुषोत्तम लम्साल । कुनैबेला प्रचण्डले आफूलाई पृथ्वीनारायणपछिको नायक दावी गरेको समाचार याद आयो । अनि शहीद तथा वेपत्ता परिवारको आँशुका धारा, राहत माग्न माइतीघर चौरमा सुतिरहेका घाइते लडाकू याद आयो । नायकत्वको दावी गर्नु र नायकत्व निभाउनुबीच धेरै अन्तर हुँदोरहेछ । यसैले प्रचण्डको दावी खारेज गरेर मैले पृथ्वीनारायण शाह मन पराएँ ।


***
त्यसैले दक्षिणबाट सावधान रहन तिनले अपनाएको तकनिकीलाई जातको घानमा हाल्नु वेवकुफी मात्र हो । यहीबेला धर्म र व्यापारको आवरणमा काठमाण्डौ र आसपास अड्डा जमाउँदे गरेका छद्यभेषी र तिनका सहयोगीलाई देशनिकाला गरेको विषयलाई धर्मको घोलमा हाल्नुसमेत युक्तिसंगत देखिदैन (को कसरी देशनिकालामा परे भन्ने बारे त्रिशुली प्रवाहको यसअघिको क्यापुचीन टू मदर मुन शीर्षकमा बर्णन भइसकेको छ) । भ्रमको खेती गर्न बजारमा प्रो–माक्र्सवादी, प्रो–प्रगतिशील, प्रो–जनजातीका अगुवा प्रशस्त छन् । पृथ्वीनारायणका सवालमा चाँहि खबरदारी यिनीहरुलाई गर्नपर्छ भन्नेु मेरो मत हो । किनकि, इतिहास बेच्नेले बर्तमानको पनि कारोबार गर्दछन् ।

जुनबेला पृथ्वीनारायण शाह एकीकरण दौडमा थिए त्यो बेला अंग्रेजले भारतको मद्रास (१७४८), कलकत्ता (१७५७), बंगाल (१७५८) हत्यायो । गंगा नदीतटको प्लासीको युद्धबाट औपचारिक रुपमा भारत अंग्रेजको दास युगमा प्रवेश गर्यो । र, १७७० मा फ्रेन्च इष्ट इडिया लखेटिएपछि एकछत्र साम्राज्य चलायो । यो पृथ्वीनारायण शाहले मकवानपुर र त्यसपछि कीर्तिपुर विजय गरेको समय थियो । यहीबेला जयप्रकाश मल्लले गोरखाली सेनाको आक्रमणको प्रतिरोध गर्न मगाएको अंग्रेज सेना सिन्धुलीगढीमै सोत्तर भएर नफर्किएको भए नेपालको इतिहासको अर्को अँध्यारो पाटोको सम्भावना पनि त उत्तिकै छ । यहींनेर, पृथ्वीनारायणकै दूरदर्शिता र रणनीतिक चातुर्यले नेपाल खाल्डो बिदेशीको प्रभाव र चंगुलमा पर्नबाट बच्यो । दिव्योपदेशमा संग्रहित एउटा वाक्यांश ‘दक्षीणका बादशाहसित घाहा त राखनु तर त्यो महाचतुर छ, हिन्दुस्तान दबाइरहेछ, सरजमीनमा पारिरहेछ’ यही सन्दर्भको एउटा उदाहरण हो । बस् यत्ति हो ।

भारतमा धेरै राज्य राजाहरुको विलास र ऐयासी जीवनले गुमेको देखिन्छ । नवावीहरुका विलासलाई अंग्रेजले भरपुर उपयोग गरेका उदाहरण छ्याप्छ्याप्ती छन् । यिनै आडमा भेदिया औं गुप्तचरको परिचालन बढी भएको देखिन्छ । त्यसैले पृथ्वीनारायणले भनेछन्, ‘रागतानमा ठूलो मोह हुन्छ र दौलत पनि रित्तिन्छ । देशको भेद पनि तिनैले लैजान्छन् र हरीपले दागा गर्छ । आफ्नो सोखसयललाई त शास्त्रबमोजिम्को तीनै शहर नेपालका नेवारहरुको नाच झिकाई हेरे पनि हुन्छ ।’ यसबाट उपत्यकाको सभ्यता र संस्कृति आजपर्यन्त जीवन्त रहनुमा पृथ्वीनारायणको तात्कालीन दृष्टिकोण पनि एउटा मान्नपर्ने हुन्छ । गोरखालीले भादगाउँ, कान्तिपुर र कीर्तिपुरको सम्पदा र संस्कृति ध्वस्त बनाएको भए आजको विश्वसम्पदा सूचीकृत स्थलको गौरवै कहाँ रहन्थ्यो तीन सय वर्षसम्म ?

यहाँनेर पनि मलाई पृथ्वीनारायण शाह मन पर्छ ।

माइतीघर मण्डलामा अझै पनि जनयुद्धका घाइते सुतिरहेका होलान् । राहत र उपचारको उनीहरुको माग सरकारको कानसम्म पुगे पनि हृदयसम्म पुगेको छैन । एकीकरणमा लडे पनि वा परिवर्तन हेतु थालिएको युद्धमा लडे पनि सिपाही सिपाही नै हो । फेरि पनि म पृथ्वीनारायण शाहको दिव्योपदेशबाट केही वाक्यांश उधृत गर्छु । उनी भन्छन्, ‘लडाईमा सिपाही मर्यो भन्या उस्का छोरा षुडा हान्न्या नहुन्ज्याल मरबट दिनु, षुडा हान्न्या भयापछि जागिरमा उकालिदिनु र, राजाका विवेक राषिदिया देसदेसका सिपाही पनि आस राषी आउन्छन् र यस्वभया तरबारिया सिपाही हात लाग्छन् ।’

म झल्यास्स ब्यूँझन्छु । कुनैबेला प्रचण्डले आफूलाई पृथ्वीनारायणपछिको नायक दावी गरेको समाचार याद आउँछ । अनि सम्झन्छु शहीद तथा वेपत्ता परिवारको आँशुको धारा र राहत माग्न माइतीघरको चौरमा सुतिरहेका घाइते लडाकू । नायकत्वको दावी गर्नु र नायकत्व निभाउनुबीच धेरै फरक हुँदो रहेछ । यसैले प्रचण्डको दावी मनैबाट खारेज गरेर मैले पृथ्वीनारायण शाह मन पराएँ ।


***
फ्रान्सेली राज्यक्रान्ति हुनुभन्दा चौध वर्ष अगाडि नै पृथ्वीनारायण शाहको निधन भयो । खण्डीकरणबाट एकीकरणको बाटोमा लागेर उनले गल्ती गरेनन् बरु बाह्य साम्राज्यसँग मुकाबिला गर्नसक्ने अखण्ड राष्ट्रको आधार बनाए । विखण्डित र अव्यवस्थित राष्ट्रिय शासन व्यवस्थालाई एकतामा बाँध्न सजिलो हुँदैन । फरकफरक सामाजिक नियम र कानुनको अभ्यास गरिरहेका बाइसेचौबिसे कज्याएर राष्ट्र बनाउने अभियान थाल्नु बन्दकोठामा बसेर इतिहासका नायकविरुद्ध प्रतिवेदन लेख्नुजस्तो सहज होइन ।

राज्यसत्तामा जहाँकहीं कूलीन, सामन्त र धार्मिक अभिजात बर्गकै हालीमुहाली हुने हो । हिजो पनि आज पनि । फ्रान्समा पनि, नेपालमा पनि, बेलायतमा पनि, अमेरिकामा पनि । तर राजनीतिको, संस्कृतिको, जातीको, भाषाको डिस्कोर्सभित्र पसेर पृथ्वीनारायणको खेदो खन्नुको अर्थ पाँच सय पचास वर्षको मल्लकाल र त्यो भन्दा अगाडिको लिच्छवी युगसम्मलाई चाँहि बेपर्वाह वेवास्ता गर्नु हो । अथवा, सामाजिक जागरणको अवधिमा पनि तात्कालीन मुद्दाको उठान र विकासमा देखिएका कमजोरी र त्रुटीलाई ढाकछोप गर्नु हो । तर तुक र अर्थ दुबै नभए पनि चुल्हो बाल्न र जगाउनै पृथ्वीनारायणको विरोध र आलोचना गर्ने संगठित समूह र गिरोहको खेती नै हो । यसैले प्रगतिशील र क्रान्तिकारी दावी गर्नेभित्र पनि यस्ता अवाञ्छित गिरोह छन् जो राजनीतिको रोटी सेक्न इतिहासको हुर्मत लिने ध्याउन्नमा निरन्तर छन् ।

संयोग, फ्रान्सेली दार्शनिक मन्टेस्क्यू र पृथ्वीनारायण शाहको निधन एउटै वर्ष भएछ । पृथ्वीनारायण शाहको पालामा मन्टेस्क्यूले भनेजस्तो शक्ति पृथकीकरण भएन भनेर बहस गर्नु कति बुद्धिमतापूर्ण हुन्छ ? तीन सय वर्षअघिको समयलाई आजमा तुलना गरेर कानुनको आत्माअनुसारको व्यवस्था नगरेकाले शाह आततायी हुन् भन्नु ? यही हो सोचको गरिबी र ज्ञानको ठगी भनेको ।

पृथ्वीनारायण शाहभन्दा दश वर्ष अगाडि जन्मेका रहेछन् जीन ज्याक रुसो । रुसोले प्रतिपादन गरेको सिद्धान्त यस्तो थियो, नेपालमा चाँहि एकीकरणको नाममा यस्तो भयो भन्ने अक्षरजीवी पनि देखिए । त्रिभुवन विश्वविद्यालयमा ऐच्छिक अंग्रेजी पढ्दैमा वा पढाउँदैमा त्यो बर्ग आफूलाई दुनियाँको सर्वज्ञ ठान्दछ र पृथ्वीनारायणलाई चुत्थो करार गर्न हाडछाला घोटेर मरिहत्ते गर्दछ । अझ गैरसरकारी संस्थामा काम गर्ने, त्यसमाथि पनि अधिकारकर्मीको छाला ओडेका, त्यसमाथि पनि आफूलाई जनजातीको नाइके दावी गर्ने मुठ्ठीभरका बिचौलियाको त कुरै बेग्लै । त्यस्ता पण्डितहरु फ्रान्सेली राज्यक्रान्तिभन्दा अघिको फ्रान्स पनि हेर्दैनन्, पृथ्वीनारायणकालीन नेपालको समाज र भारतीय उपमहाद्वीपमा बढ्दो पश्चिमा हैकमको अन्दाज पनि गर्दैनन् ।

अमेरिकाले वेलायती उपनिवेशबाट मुक्त हुन स्वतन्त्रता संघर्ष शुरु गर्दा पृथ्वीनारायण शाहले सार्वभौम राष्ट्र एकीकरणको गति गतिशील बनाएको मूल्याङ्कन हुनपर्दैन ? केही प्रायोजित पण्डितलाई कीर्तिपुरमा नाक काटेको र भक्तपुरमा चाक काटेको हिसाब गर्दैमा फुर्सद छैन । यी पण्डितहरु केही आफूलाई लाल दाबी गर्छन्, प्रगतिशील र माक्र्सवादी देखाउने ठेक्का पनि लिएका छन् । पृथ्वीनारायणको सेखी झार्न पाउँदा जात र गोत्र प्राप्त हुन्छ भन्ने पनि बग्रेल्ती छन् । कतिलाई त एकीकरण अभियानलाई गलत करार गर्न पाए बढो क्रान्तिकारी देखिने औ भइने भ्रम पनि छ । अनि पौने तीन सय वर्षअघिको एकीकरण तिनलाई बहूत सामन्तवादी जँच्छ । अनि शुरु हुन्छ यिनका द्वन्द्वात्मक भौतिकवादका तामसी व्याख्या । अनि तिनले कहिल्यै अनुमान लगाएनन् पृथ्वीनारायण माक्र्सभन्दा झण्डै सय वर्ष जेठा थिए र नेपालमा एकीकत राज्यको अवधारणा स्थापित भएको सय वर्षपछि मात्र दास क्यापिटल छापिएको कुरा । तिनका साम्यवादी आदर्शको घोषणापत्र आउँदा विशाल नेपालको क्षेत्रफल तीन लाख बर्गकिलोमिटर पुगेको थियो जसको आधार जम्मा ५२ वर्ष बाँचेका तिनै एकीकरण अभियानकर्ताले तयार गरेका थिए ।

लाल र श्वेतहरुको चश्मामा अजीब रङ्ग छ । तिनलाई क्रान्तिका नाममा भएका सबै रक्तपात जँच्छ । परिवर्तनका नाममा भएका कत्लेआम पनि जँच्छ । विद्रोहका नाममा भएका नरसंहारले तिनलाई पोल्दैन । जसै तात्कालीन समाज र विश्व परिस्थतिअनुसार राजा राजाबीचको लडाईं, राज्य राज्यबीचको युद्धको कुरा आउँछ अनि तिनको छाती पोल्छ । दुनियामा गणराज्य र कबिलालाई एउटा नायकको नेतृत्वमा एकीकृत गर्ने कुनचाँहि युद्धमा रगत बगेको छैन ? कुनचाँहि युद्धमा शत्रुको टाउको भेदन भएको छैन ? अरुले गरेको युद्ध चाँहि क्रान्तिकारी संघर्ष, पृथ्वीनारायण शाहले गरेको चाँहि रक्तपात ? शाहवंशको राजा भएकाले चाँहि बेठीक ? यही हो सोचको दरिद्रता भनेको । त्यो पनि तात्कालीन इतिहासको स्वभाविक गति हो भनेर स्वीकार्दा तिनलाई ग्लानी महशुस हुन्छ ।

टुक्राटुक्रा राज्य जोडेर राष्ट्र बनाउने उनको अभियान अरु देशमा जस्तै युद्धमै आधारित हुनु नाजायज हैन भन्दा तिनलाई तलब नआउने डर हुन्छ । अनि फेरि राष्ट्रवादको वान्ता गर्ने पनि तिनै हुन्छन् बजारमा । राष्ट्रिय स्वाधीनता र सार्वभौमताको पखाला पनि तिनलाई बढी चल्छ । जातको अचार र धर्मको शितन हात पारेपछि तिनलाई के पृथ्वीनारायण, के बहादुर शाह ।

यो पनि पढ्नुहोस् 

‘द ग्रेट पृथ्वीनारायण शाह’

२०७५ पुष २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको