संस्मरण- ‘शालिक ढल्यो तर इतिहास ढलेन’


जनकराज डुंगाना ‘कालु’ । त्यो बम प्रकरणबारे अरुले जति मलाई प्रश्न सोधेका छन् त्यो भन्दा सयौं गुणा बढी प्रश्न मैले आफैंसँग सोधेको छु । म इतिहासको पुरावृत्ति सम्भव छैन भन्ने तहमा आइपुगेको छु । इतिहासलाई निषेध गरेर महान हुन सकिदैन भन्ने तहमा आइपुगेको छु ।

शालिक त ढालियो तर त्यसको आत्मा र अन्तर्य दस्तावेजमा सुरक्षित छन् भन्ने तहमा आइपुगेको छु ।


***

हरेक वर्ष तीनवटा दिन मेरा लागि विशेष छ । जन्मदिन, विवाहको दिन र, चैत्र २८ । सबै दिनको अलग्गै महत्व छ । पहिलो र दोस्रो उत्साह, उमंग, उर्जा बोकेर आउँछ । तेस्रो, ग्लानी र निराशा बोकेर । पहिलो र दोस्रो पूर्णिमा जस्तो, तेस्रो औंशी जस्तो ।

भलै मेरो त्यो उमेर, त्यो बेलाको मेरो ज्ञानको परिधी, मेरो चेतनाको आयाम केलाउँदा मैले त्यति धेरै पश्चाताप बोक्न पर्छजस्तो लाग्दैन । तैपनि, वर्षको एक दिन त्यो घटनाले मलाई चिमोटेकै हुन्छ ।

आज म जन्मदिन वा विवाहउत्सवको गाथा लेख्न बसिन । त्यो चैत्र २८ को स्मरण गर्न बसेको छु, जुन दिन म नेपालको इतिहासको एउटा बिम्ब, एउटा प्रतीक, एउटा शक्ति, एउटा शालीकमाथि विस्फोटक पदार्थ पड्काउने कृत्यमा सहभागी थिएँ ।

इमानको पहाडमा उभिएर भन्छु, म त्यो कृत्यको साक्षी हूँ । यदि त्यो पाप हो भने यो पाप मलाई मात्र नलागोस्, दुश्मन र राज्यलाई चुनौती दिन सरकारी व्यक्ति र संरचना दुबै निशानामा राख्नपर्छ भन्ने तात्कालीन राजनीतिको अख्तियारवाला र मुख्तियारवाला सबैलाई लागोस् ।

यदि त्यो अपराध हो भने सबैलाई बराबर दुरीमा राखेर कानुनको एउटै साङ्लोले बाँधेर कालकोठरीमा राखियोस् । सहिन्छ, बुझाइन्छ ।

मिति २०५९ चैत्र २८
समयः बिहान पाँच बजे
स्थान: घर र देविघाट
पात्रहरुः कमरेड शहदेव, कमरेड रक्तिमा, मेरी आमा, म र अन्य पाँच जना ।

त्यो बिहानै कसैले ढोका ढक्ढक्याए । एक मनले सोच्यो बा आएकी के हो ? (बा युद्ध मैदानमा हुनुहुन्थ्यो । चार महिनादेखि सम्पर्क छैन भन्नुहुन्थ्यो आमा ।) सेनाको आउजाउ बाक्लिएको बेला एकाबिहानै ढोकामा ढकढक आवाज आउँदा पनि काल आए जस्तो लाग्थ्यो घरमा । सेना भनेको राक्षस हो, दैत्य हो भन्ने छापै थियो । कालै पो आयो कि ? शंका र भयका बीच आँखा मिच्दै ढोका खोलियो ।

रहेछन् एकजना पुरुष र एकजना महिना माओवादी । शहदेव र रक्तिमा नामका ।

‘आज भाइले सहयोग गर्नपर्यो, देवीघाटमा कार्यक्रम छ, भाई’, उनीहरुले भने ।

बिहानको स्कूल थियो । पढ्न जान पर्ने मान्छे । मैले भनें, ‘थाहा नभएको काम गर्न जान्न म, त्यै पनि डर लाग्छ ।’

‘म महिला भएर त डराएको छैन, बन्दुक बम बोकेर देश वनाउन हिडेको छु, तपाई छोरो भएर पनि डराउने ?’ वल्लोपल्लो घरमा समेत सुनिने गरी महिना कामरेड बोलिन् ।

‘ममीलाई सोध्नुस’ मैले भने । ममीले पढाई वा अरु कुनै बहाना बनाएर उनीहरुसँग पठाउनुहुन्न भन्ने थियो । उनीहरुले ममी बोलाउन पठाए ।

‘दिदी (घरमा आमालाई दिदी भन्थ्यौं) भित्र माओवादीहरु छन्, तपैंसँग कुरा गर्ने रे, मैले बताएँ ।

उनीहरुले मलाई लैजान करबल गरे । ममीले थुप्रै बहाना बनाउनुभो ।

अन्तमा केही नलागेर दुई घन्टाको शर्तमा ममी मलाई उनीहरुसँग पठाउन तयार हुनुभयो । ‘यसको बुबालाई पनि एकपटक घर जान भन्दिनुहोला’, जाँदाजाँदै कमरेड रक्तिमासँग दिदीको अनुरोध थियो ।

घरबाट निस्कँदा कमरेड शहदेवको झोला कम्तीमा दश किलो थियो होला । बाटोमा हिंड्दै जाँदा मलाई बम कसरी राख्ने, तार कसरी जोड्ने, कताबाट भाग्नेलगायतका कुरा सिकाइयो ।

मलाई शहदेवको जिम्मा लगाएर रक्तिमा दिदी कतै दम्पच हुनुभयो । देविघाटनजिकको दुईसले चौतारामा अरु पाँचजना झोले (माओवादीका झोला बोकेका) भेटिए । मलाई सबैको नाम याद छैन । १० मिनेट परको बेसिथोकको अर्को चौतारामा फेरि योजना सफल बनाउने योजना बन्यो, ‘म एक्लै तल बजार जाने, शालिकमा बम पड्काउने र तीब्रताका साथ चौतारामा आएपछि सबैजना सेल्टर (घर) मा फर्कने ।’

तादी खोला तर्न पहिलो झोलुंगे पुल मात्र थियो । पुल कट्नासाथ स्थानीय माधव गजुरेल दाईसँग भेट भयो । एकाबिहानै गह्रुगो भारी जस्तो बोकेको देखेर उहाँ पनि छक्क ।

‘के बोकेर आएको बोरामा ?’ दाईले प्रश्न गरे ।

‘बम बोक्या बम’, मैले ठाडै तर सिधा उत्तर दिएँ । अरुले केही बोलेनन् मुखामुख मात्र गरे ।

म आफ्नो बाटो लागें । जति शालिकको नजिक पुग्छु, मुटुको धड्कन उति बढ्ने हुँदो रहेछ । सिकाएको जस्तै मैले चारैतिर मान्छेको अवलोकन गरें । शालिकलाई एक फन्को घुमें । बम राखिएको बोरालाई जतनसाथ पर्खालभित्र राखें । तारको गोलाई बाहिर राखेर म पनि पर्खालभित्र गएँ । मलाई बम शालिकको खुट्टाको बीचमा राख्न, तार मिलाएर फ्ल्यास स्वीच जोड्न र त्यसपछि पर्खाल बाहिर आउन सिकाइएको थियो ।

‘बाहिर आएर स्वीच दबाउने बेलामा छाती भुईमा नजोडी घोप्टो परेर सुत्नु’ मलाई शहदेव दाईले भनेको कुरा सम्झिएँ !

‘सकेसम्म दुबै कान औंला वा हप्केलाले टम्म थिच्नु ।’

बम पड्कियो, ‘धडाम् ….धुडुम्म ।’

मेरो कान टिनटिन बजिरहेको थियो । उठेर हेरें शालिक टुक्राटुक्रा भएको देखें । अघि ल्याएका सबै सामान त्यत्तिकै छाडेर म सकेको गतिमा दौडिएँ ।

बमको आवाजसँग देविघाट बजारमा पसलको ढोका बन्द गर्न हानथाप थियो । सडकमा मान्छे त के उभिएको लौरो पनि थिएन । मलाई नै थाहा छैन माथिको चौतारा पुग्न मलाई कति समय लाग्यो । चौतारामा कुरिरहेका थिए शहदेव । उनले मुलबाटोको होइन बारीको बाटो प्रयोग गर्नपर्ने भन्दै हस्यांगफस्यांगमै दौडाए ।

बाटोमा ‘त्यो बम पड्काएर के हुन्छ ?’ भनेर सोधेको थिएँ । उनले भने, ‘पार्टीको कार्यक्रम पार्टीको आदेश’, ‘पार्टी भनेको माओवादी ठूलो मान्छे भनेको प्रचण्ड’ कमरेड शहदेवले त्यो बेला दिएको उत्तर मलाई याद छ ।

‘प्रचण्डले पड्काउनु भनेको ?’ मेरो प्रश्नले बुढा रन्किए त्यो बेला । ‘चुप लागेर छिटो हिंड, सेना आइपुग्यो भने हामी दुबैलाई मार्छ’ भन्दै शहदेव कमरेडले हिंडाईको बेग बढाए ।

खासमा त्यतिबेला माओवादीको जिल्ला इञ्चार्ज जगतजंग उर्फ प्रज्ज्वल उर्फ इन्द्र गौतम थिए । तिनले कुन सन्दर्भमा नाम लिएको थिएँ भन्ने अहिले भुलें ।

४५ मिनेटजतिमा अमलेडाँडा पुगियो । गहुँ काट्ने समय थियो । ममीहरु खेतमै हुनुहुन्थ्यो । घर नपुग्दै तलतिर फायरिंगको आवाज आउन थाल्यो । गोलीको बाटो थाहा पाउन मेरो अनुभव थिएन । कतिवटा फायरिंग भयो पनि गनिन ।

तालिमप्राप्त लडाकू शहदेव कुनबाटो कतिखेर मेरो आँखा छलेर सुईकुच्चा ठोके भन्ने पनि थाहा पाइन ।

११ बजेदेखि साँझ अबेरसम्म म नजिककैको ओडारमा बसें । साँझमा घरमा पुग्दा रुवाबासी चलेको रहेछ । म त घर फर्किएँ तर घरमा अब कसैले म भोलीदेखि सुरक्षित हुन्छु, स्कूल जाला र पढ्न पाउला भनेर सुझाएनन् । त्यही रातको सल्लाहअनुसार १२ बर्षको उमेरमा म पनि क्रान्तिको सिपाही भएर हिंड्ने बाटो तय भयो ।

अहिलेको दृष्टी…!

म अहिले पनि राजनीतिक प्राणी नै हूँ । राजनीति नगरे पनि म राजनीति हेर्छु र बुझ्ने प्रयास गर्छु । त्यो बम प्रकरणबारे अरुले जति मलाई प्रश्न सोधेका छन् त्यो भन्दा सयौं गुणा बढी प्रश्न मैले आफैंसँग सोधेको छु ।

म इतिहासको पुरावृत्ति सम्भव छैन भन्ने तहमा आइपुगेको छु । इतिहासलाई निषेध गरेर महान हुन सकिदैन भन्ने तहमा आइपुगेको छु । शालिक त ढालियो तर त्यसको आत्मा र अन्तर्य दस्तावेजहरुमा सुरक्षित छन् भन्ने तहमा आइपुगेको छु ।

पृथ्वीनारायणको वीरता, सौर्य, कूटनीति, राजनीतिक सम्बन्ध र शाषकीय दृष्टी भेट्टाउने कुनै नेपाली राजा वा राजनीतिकर्मी जन्मिएका छैनन् भन्ने तहमा आइपुगेको छु । स्वाधीन र अखण्ड राष्ट्र दिएर त्यसलार्इृ बिदेशीको छायाबाट बचाएर स्वाभीमानको घमण्ड गर्नसक्ने जनता बनाइदिएकोमा पृथ्वीनारायण शाहलाई नमन गर्ने तहमा आइपुगेको छु ।

हरेक वर्ष कम्तीमा एक दिन म पश्चातापमा उम्लिन्छु । जल्छु । पृथ्वीनारायणको शालिकमा बम राख्न आदेश दिने तात्कालीन कमरेडहरुको ज्ञानको, इतिहासको मूल्यांकनको क्षमता र बुझाई देखेर अहिले मलाई टीठ लाग्छ ।

त्यो कार्यक्रम बनाउने र आदेश दिने चेतना कसरी क्रान्तिकारी हुन्छ ? मैले अहिलेसम्म त्यसको भेऊ पाउन सकेको छैन । क्रान्तिकारीको नाममा इतिहासको गलत मूल्यांकन गरेर छरिएको भ्रमबाट म धेरैअघि मुक्त भएको हूँ ।

पुर्खाले गरेको त्याग र उपलव्धिको उपहास गर्ने प्रवृत्तिलाई उहिल्यै धिक्कारेको हूँ ।

त्यो घटनाले मेरो जिन्दगीको बाटो त बदल्यो नै मेरो कलिलो मस्तिष्कको दुरुपयोग भयो । कमरेडहरु सफलताको मादमा मस्त भए । मस्त हुनु र अस्त हुनु नियति हो । इतिहासको गलत मूल्यांकनको प्रारब्ध प्रचण्डहरुले पनि भोगिसकेका छन्, प्रज्ज्वल वा जगतजंगहरुले पनि भोगिसकेका छन् । शहदेव कामरेडले भोगे कि भोगेनन्, जान्न मन छ ।

किनकि, अहिले मेरा नजरमा पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक मात्र होइनन् राष्ट्रपिता हुन् । पिता त्यो हुन्छ जसले जन्म दिन्छ, भ्रूण हाल्छ । खण्डखण्डमा बाँडिएको, बाइसीचौबीसीलगायतका भुरेटाकुरे राज्यहरुलाई युद्धको माध्यमद्वारा एकता प्रक्रियामा ल्याएर अखण्ड नेपालको जग हाल्ने र घर विस्तार गर्ने पृथ्वीनारायण नै खासमा राष्ट्रपिता हुन् ।

कसैको डरले भागेर बिदेशमा शरण लिएर कसैको औंलामा नाचेर देश फर्कने पात्रलाई कसले भन्यो राष्ट्रपिता ?

अतः राष्ट्रपिताको जयन्तीको रुपमा पृथ्वी जयन्ती हृदय खोलेर मनाऔं । जय नेपाल ।

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको