कात्तिक २३, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीमा विवादबारे सर्वपक्षीय छलफल सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा विवाद, भारतीय पक्षबाट नेपालका भूमि अतिक्रमणबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन बैठक राखेका हुन्।
शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी छन्।
कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो। यसअघि प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए।
भारतले नक्सा जारी गरेपछि विरोधमा नेपालमा विद्यार्थी संगठनले आन्दोलन गरिराखेका छन् । सरकारले पनि उक्त नक्सा अस्वीकार्य हुने बताएको छ ।
कात्तिक २१ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस