सुदूरपश्चिम प्रदेश सरकारद्वारा हावाहुरी प्रभावितलाई राहत घोषणा


जेठ २६, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख ५० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकका परिवारसँगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

पूर्णरुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आंशिक क्षति भएकालाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसअलावा पूर्णरुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको सदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए।

यस्तै, बालीनाली, पशुपंक्षीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुनबमोजिम मापदण्ड बनाई कार्यान्वयन गर्ने निर्णय भएको मन्त्री शाहले बताए। मन्त्री शाहका अनुसार हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन। उनले क्षतिको विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने स्पष्ट पारे।

मन्त्री शाहले अहिलेसम्म प्राप्त विवरणका अनुसार कैलालीमा मात्रै १ हजार १ सय ७४ घर पूर्णरुपमा क्षति भएको छ। मन्त्री शाहले कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जतिसक्दो छिट्टै सुचारु गराउने प्रयास भइरहेको बताए।

२६ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको