आज देखि च्याम्पियन्स लिगमा क्वार्टरफाइनलका खेलहरू हुँदै


चैत २६, काठमान्डौ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन् । जसअन्तर्गत आज एक खेलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र टोटनह्यामको भिडन्त हुँदैछ ।

पहिलो लेगको खेल टोटनह्यामको घरेलु मैदनमा हुँदैछ । यी दुवै टोली यो सिजन प्रिमियर लिगको शीर्ष चारमा छन् । सिटी भने उपाधि दौडमा छ । हाल सिटी लिगको दोस्रो स्थानमा छ भने टोटनह्याम चौथो स्थानमा छ । लिगमा हाल टोटनह्याम सिटीभन्दा १६ अंकले पछि छ ।

सिटी र टोटनह्यामको भिडन्त निकै रोमाञ्चक हुनेछ । दुवै टोली लिग प्रतिस्पर्धी भएकाले पनि यो खेललाई निकै महत्त्वसाथ हेरिएको छ । यसअघि सिटीले अन्तिम आठमा शाल्केलाई समग्रमा १०–२ तथा टोटनह्यामले बोरुसिया डर्टमुन्डलाई ४–० ले हराएर अन्तिम आठमा स्थान बनाएको थियो ।

आज हुने अर्को खेलमा इंग्लिस क्लब लिभरपुल र पोर्चुगिज पोर्टो भिड्दैछन् । यो खेलका लागि लिभरपुलले पोर्टोलाई आफ्नो घर एनफिल्डमा स्वागत गर्दैछ ।

यसअघि लिभरपुलले अन्तिम आठमा जर्मन क्लब बार्यन म्युनिखलाई समग्रमा ३–१ तथा पोर्टोले इटालियन रोमालाई ४–३ ले हराएर अन्तिम आठमा पुगेका थिए ।

यस्तो छ खेल समय र लाइभ

आज हुने दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् । यी खेल नेपालमा सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिनेछ । त्यसैगरी, मोबाइल एप SonyLive बाट पनि लाइभ हुनेछ ।

२६ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको