प्यूठान: घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली


फागुन २५, प्यूठान । झिमरुक गाउँपालिका-१ सौतामारे तल्लोगाउँ प्यूठानका विष्णु थापा र उनकी श्रीमती सीताको बेला बेला झै-झगडा हुने गथ्र्यो ।

यो समाचार केशर रोकाले अन्नपूर्ण पोष्टमा लेखेका छन् । छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । गत वर्षको चैत २० गते पनि उनीहरुबीच सधैँ झैँ सामान्य कुरामा झगडा भयो । भनाभन चलिरह्यो । सीताले श्रीमानलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए ।

रिसको आवेगमा सीताले छेउमै रहेको हसियाको पछाडिको भागले हान्न खोज्दा दुर्घटनावश् अगाडिको धारिलो भागले लाग्यो । हातमा गहिरो चोट लाग्यो । धेरै रगत बगेपछि विष्णुको उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।

श्रीमानको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता अहिले जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जेलसजाय तोकिएको छ ।

सन्तानलाई सास्ती

बुवा आमाको कारण नावालक छोराछोरीले भने पीडामा दैनिकी गुजार्नु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमा बुवाको घटना सोध्यो कि, आँशुले मन थाम्नै सक्दैनन् ।

बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए । पढाइमा अब्बल उनको घटनापछि पढाइ बिग्रँदै जान थालेको छ । उनले ७ र बहिनीले ५ कक्षामा पढ्छन् । कान्छी बहिनीको हेरचाह गरेर उनी जसोतसो घरमा बसिरहेका छन् । तर, बुवा, आमाको यादले पोलेपछि उनीहरु रातको समय घरमै बस्न सक्दैनन् ।

बिहानको खाना घरमै दाजुबहिनी आफैँ पकाएर खान्छन् । रातको खाना खाइसकेपछि सुत्न छिमेकीहरुको घरमा आलोपालो गरेर जान्छन् । ‘ख्यालख्यालमै बुवा बित्नुभयो’, घटना सोध्दा सुनीलले आँशु बगाउँदै भने, ‘आमाले हसियाको बिँडले हान्न खोज्दा धारले लागेछ । अहिले हाम्रो साथमा न बुवा हुनुहुन्छ, न आमा ।’

सुनील कहिलेकाँही जेलमा आमालाई भेट्न सदरमुकाम खलंगा जान्छन् । कारागारभित्र आमालाई देख्दा उनको मन सम्हालिन सक्दैन । छोटो भेटपछि उनी बसमा रुँदै घर फर्कन्छन् ।

कलिलो उमेरमै पीडामा जीन्दगी कटाइरहेका यी दाजुबहिनी अहिले बेसहारा नै बनेका छन् । राम्रोसँग पढ्ने, लेख्ने र खुसीसँग हासखेल गर्ने कुरा उनीहरुलाई धेरै टाढाको बनिसक्यो । तीन सन्तानमध्ये जेठो दाइ भारतमा मजदुरी गर्छन् । तर, उनलाई घरको ऋण तिर्नै हम्मेहम्मे छ । बुवा आमाको साथ टुटेपछि बेसहारा दाजुबहिनीले गाउँकै पसलबाट उधारोमा चामल, नुनतेल लिएर खाने गर्छन् ।

वडाध्यक्ष धुर्वराज खनालले चाडपर्वको बेला मिठो, मसिनो खानाका लागि व्यक्तिगत रुपमा चार÷पाँचसय रुपैयाँ पैसा दिने गरेको सुनाउँछन् । सजाय पूरा गरेपछि आमा जेलबाट त छुट्लिन । तर, कलिला दाजुबहिनीलाई विगतको घटनाले सँधै मन पिरोल्ने गरेको छ । कारागारबाट आमा छुट्ने समय पर्खिरहेका यी दाजुबहिनीलाई दैनिक गुजारा चलाउनै गाह्रो छ ।

२५ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको