सीके राउतसँगको सहमतिले नेकपाभित्रै असन्तुष्टि


फागुन २५, काठमाडौं । सरकारले सीके राउतसँग गरेको सहमतिप्रति नेकपाभित्रैबाट प्रश्न उठेको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ– सरकारले राउतसँग सहमति गर्न लागेको विषय सचिवालयकै नेताहरूले शुक्रबार बिहानको बैठकमा मात्र जानकारी पाएका थिए ।

सहमतिमा प्रयोग भएका भाषा र अकस्मात थाहा पाउने अवस्थाप्रति नेताहरूले आशंका गरेका छन् । राउतसँग दिउँसो १ बजे सहमति गर्ने निर्णय भएपछि बल्ल नेकपाको सचिवालय बैठक बसेको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले राउतसँग सहमति गर्न लागेको जानकारी गराएका थिए ।

त्यसबारे पार्टीमा अन्य कुनै छलफल भएको थिएन । ‘प्रधानमन्त्रीले सीके राउतसँग सम्झौता हुने भयो भन्ने जानकारी बैठकमा गराउनुभयो, त्यसअघि हामीलाई यसबारे केही थाहा थिएन,’ सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो विषयमा पार्टीमा छलफल भएको थिएन ।’

कसरी सहमति भयो भन्नेबारे पार्टी जानकार नरहेको श्रेष्ठले बताए । राउतसँगको सहमतिमा प्रयोग भएको भाषा र त्यसको आशयप्रति उनले संशय प्रकट गरेका छन् । ‘सीके राउत समूह साँच्चिकै पृथकतावादी गतिवधि छोडेर तराई मधेससहितको नेपालको पक्षमा आएको हो भने यो स्वागतयोग्य छ,’ उनले भने, ‘यो प्रतिबद्धता उहाँबाट आगामी दिनमा प्रदर्शित भए सरकारले गरेको सम्झौताको पहलकदमी पनि स्वागतयोग्य हुनेछ ।’

यो विषयमा सचिवालयका अन्य नेताहरूले सार्वजनिक रूपमा बोलेका छैनन् । स्थायी समिति सदस्यले भीम रावलले ट्वीटमार्फत सहमतिप्रति आशंका गरेका छन् ।
पत्रिकाले प्रमुख प्रतिपक्ष कांग्रेसले मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व लिएका सीके राउतको राजनीतिक रूपान्तरण र सरकारसँग भएको सम्झौतालाई स्वागत गरेको उल्लेख गरेको छ ।

‘छुट्टै देश बनाउँछु भन्ने अभियान त्यागेर नेपालको अखण्डतालाई स्वीकार्दै संविधान र कानुनअनुसार शान्तिपूर्ण गतिविधि गर्ने प्रत्याभूतिसाथ सम्झौता भएको हो भने स्वागतयोग्य कदम हो,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘यसको म स्वागत गर्छु ।’

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको