एरपोर्ट कडाइप्रति युएइका रोल्पालीहरुको गुनासो, बोनम्यारो पिडितलाइ उठ्यो ३ लाख धेरै सहयोग


माघ २६, युएइ । बैदेशिक रोजगारबाट नागरिकहरु घर फर्किदा उनीहरुको सामानलाइ लिएर एरपोर्टमा कडाइ भैरहेको सरकारी कार्यप्रति अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइले चिन्ता व्यक्त गरेको छ ।  राज्यले अन्तर्राष्ट्रिय त्रिभुवन बिमानस्थलबाट स्वदेश फर्किने आफ्ना नागरिकहरुको सामानलाइ जफत गरि लिलाम सुचना गरे लगतै एरपोर्टका कर्मचारीहरुले उनीहरु प्रति थप बढाएको कडाइ प्रति अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइका प्रमुख सल्लाहाकार रामकृष्ण पुन मगरले आपत्ति जनाएका छन् ।

रोल्पाली सेवा समाज युएइको चौथो बिस्तारित बैठक तथा प्रेम बहादुर सहयोग अभियान समापन कार्यक्रममा बोल्दै पुनले सरकारले बैदेशिक रोजगारमा रहेका युवाहरुको मनोभावनामा चोट पुर्याउने कार्यगरेको जनाए ।  उनले भने ‘ खाडीको तातो घाममा पसिना बगाएर जम्मा गरेको पैसाले आफ्ना जहान परिवार तथा बालबच्चाको लागि घर लैजाँदै गरेको आबस्यक सामान प्रति कडाइ गर्दा रोजगारमा रहेका नागरिकहरुमा तिब्र असन्तुष्टि उब्जिएको छ, सरकारले ध्यान दिन आबस्यक छ । ‘

बैठक तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित रोल्पाका रोसन गिरिले गुनासो पोखे, ‘हामीलाई राज्यले देश भित्रै रोजगार त दिएन सकेन, विदेशबाट दुइपैसा कमाएर परिवारको खुसीका लागि थोरै सामान लैजाँदा पनि सरकारलाई किन आपत्ति भयो ?’ उनले निरास हुँदै दुख पोखे ।

कार्यक्रममा अन्य सहभागीहरुले पनि सरकारको उक्त कार्यप्रति गुनासो पोखेका थिए ।

बोनम्यारो पिडित प्रेम बहादुरलाइ सहयोग रकम उठ्यो

रोल्पाका बोनम्यारो पिडित प्रेम बहादुर पुनको सहयोग अभियान समापन भएको छ ।  अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइले १० हजार ३ सय ९ दिराम (नेपाली रकम करिव ३ लाख १९ हजार ५ सय ७९) संकलन गर्न सफल भएको छ ।  उक्त रकम युएइमा रहेका नेपालीहरु र विभिन्न संघ संस्थाको सहयोगमा संकलन गरिएको थियो ।

सहयोगका लागि बिभिन्न क्षेत्रीय कमिटिबाट रकम संकलनमा महत्वपूर्ण भूमिका भएको देव राज वलीले बताए ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय उपाध्यक्ष तथा युएइका सल्लाहकार देव राज वलीको संयोजकत्वमा अभियान समिति निर्माण गरि आर्थिक संकलन गरेको थियो ।  उठेको सम्पूर्ण रकम पिडित पुनलाई नै हस्तान्तरण गरिने अभियान संयोजक वलीले बताए ।  सहयोग अभियानमा जुट्ने सबैलाई वलीले धन्यबाद ज्ञापन समेत गरेका थिए ।

संगठनिक हेरफेर

समाजका अध्यक्ष कृतिमान पुनको सभापतित्वमा सम्पन्न चौथो बिस्तारित बैठक तथा अन्तरक्रिया भेला द्वारा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइको सल्लाहकारमा दिल पुनलाइ नियुक्त गरेको छ ।  उनि बिगत देखिनै रोल्पाली सेवा समाजलाइ महत्वपूर्ण योगदान दिंदै अन्य सामाजिक गतिविधिमा पनि सक्रीए रहदै आएका थिए ।

त्यसैगरी माया मगर र मिन राज बिष्ट क्षेत्री केन्द्रिय समिति सदस्यमा मनोनित भएका छन । यससंगै ३५ सदस्यीय केन्द्रिय समिति युएइ बनेको छ । अहिले सम्म दुबई क्षेत्रीय समिति, अबुधाबी क्षेत्रीय समिति र सारजहा-अजमान समिति गठन भैसकेको छ ।  निकट भबिस्यमै अलएन समिति निर्माण प्रक्रियामा रहेको युएइका केन्द्रिय अध्यक्ष कृतिमान पुनले बताए ।

युएइमा रहेका रोल्पाली महिलाहरुको सहभागितालाई ध्यानमा राखी माया मगरको संयोजकत्वमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइ अन्तर्गत महिला बिभाग गठन गर्ने एक महत्वपुर्ण निर्णय गरेको छ ।  उक्त बिभाग गठन निकट भबिष्यमा नै हुने तयारीमा जुटेको समाजले जनाएको छ ।

युएइको बरदुबई स्थित सिल्भर रेस्टुरेन्टमा सुक्रबार भएको कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख सल्लाहकार रामकृष्ण पुन, अतिथिहरु सल्लाहकार देवराज वली, प्रेस सल्लाहकार केबी गुरुङ, दिल पुन रहेका थिए ।  कार्यक्रमलाइ समाजका महासचिव कुमार केसीले संचालन गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष ताजारम वलीले प्रस्तुत गरेका थिए ।  त्यसैगरी सांगठनिक प्रतिबेदन शेर बहादुर डाँगीले प्रस्तुत गरेका थिए ।

सल्लाहकार तथा अभियान संयोजक देव राज वलीले प्रेम बहादुर सहयोग अभियानको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाबारे महत्वपुर्ण सल्लाह्सुजाव दिएका थिए ।

प्रेस सल्लाहकार केबी गुरुङले संस्थाको जिम्मेवारी र संगठन संचालन बारे कार्य पदाधिकारीहरुको भूमिका बारे प्रस्ट्याएका थिए ।

अबुधाबी क्षेत्रबाट क्षेत्रीय समिति अध्यक्ष रोसन गिरि, दुबई क्षेत्रबाट क्षेत्रीय समिति अध्यक्ष अजय सुनार र सारजाहा-अजमान क्षेत्रबाट क्षेत्रीय समिति अध्यक्ष टिकाराम पुनले आ-आफ्नो क्षेत्रको रिपोर्टिंगका साथै सल्लाह सुजाव समेत दिएका थिए ।

युएइ समितिका केन्द्रिय अध्यक्ष कृतिमान पुनले आगामी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमलाइ समापन गरेका थिए ।

 

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको