शेर बहादुर तामाङले मन्त्रि पदबाट राजीनामा दिए तर रबिन्द्र अधिकारीले किन दिएनन?


पृथीछक बुढा मगर । मेवासंग जोडिएको कामलाई सेवा भनिदैन । नेपालमा भने यसैलाई सेवा भनिन्छ । मेवाकै लागि नेताहरुलाई पद चाहिन्छ । त्यही पद पाउनलाई गरिएको कसरतलाई सायद नेपालमा राजनिती भनिन्छ ।

मन्त्रि रबिन्द्र अधिकारीले कति कसरत गरे कि उनैलाई थाहा होला कि भोग्नेलाई थाहा होला । कसरत पनि एउटा श्रम नै हो । श्रमको मूल्य नचुकाई मन्त्रीवाट राजिनामा दिने कुरै भएन ।

कसरत मात्रै भए त ठिकै हो । कसरतको साथसाथै बिचरा रविन्द्र दाजुले मन्त्री वन्नलाई कति धनराशि खन्याए । सावाँ ब्याज नउठाई त कसरी राजिनामा दिनु ? घाटाको पेशा कसैलाई गर्न मन लाग्दैन । एउटा बर्गको लागि राजनिती भनेको पेशा नै हो । एउटा बर्ग कसलाई भनिएको हो ? पाठक जानकार छ ।

मन्त्री पदको मूल्य कति होला ? सायद मन्त्रालय हेरिहेरी मोल तोकिदो हो । स्थानिय चुनावताका गाउँपालीका प्रमुखको लागि २२ लाख मूल्य तोकेको हल्ला आएको हो । जाबो गाउँपालीका पदको लागि यति महँगो मूल्य पर्छ भने मन्त्री पद झन कति महँगो होला । त्यही महँगो मुल्यकै कारणले रविन्द्रको इमानदारीमा ह्रास आएको हुनुपर्छ । होइन भने खुरुक्कै राजीनामा दिन्थे । कि मन्त्रालयको कुर्सीमा कुन धातुवाट बनेको गमको लेप लागेको छ ? जसले रबिन्द्रलाई कुर्सिवाटै उठ्न दिएको छैन । बुझिनसक्नु छ ।

वाइडवडी खरिद प्रक्रियामा आफ्नो संग्लनता देखिए राजनितिवाट संन्यास लिन्छु भनेर कराएथे । मन्त्रीवाट राजिनामा दिनु र राजनितिवाट संन्यास लिनुमा फरक छ । संन्यास लिन्छु भनेर कसम खाएको मान्छेले मन्त्रीवाट राजिनामा दिन कसले रोकेको हो ? मुख्य कुरा त माया मोहमा फसेको मान्छे कहिलै संन्यासी वन्दैन । कति सजिलै झुट बोल्न सके ? पदको लोभ पनि एउटा मोह नै हो । मोहले नैतिकता हरण गर्छ । नैतिकता हराएको मान्छे पनि संन्यासी हुनै सक्दैन । अब रबिन्द्र दाईले के गर्नुहुन्छ हेर्न बाकी छ ।

केही महिना अगाडी शेरवहादुर तामाङले राजिनामा दिए । गल्ती गरेर राजिनामा दिएका भने होइनन् । इमानदारीताका लागि राजिनामा दिएको हो । अनार्य अनुहारका शेरबहादुरले बोल्न त सहि वोलेकै थिए तर बाक्लो जिब्रोले प्रसङ्गलाई फनक्कै घुमाउन नसक्दा छुस्स अलिकती कुरा के बाङ्गिएको थियो आलोचना भएपछि फ्याट्टै प्रधानमन्त्रीलाई राजिनामा कागज बुझाए । त्यो रबिन्द्रले सिक्ने इमानको गतिलो पाठ थियो । तर बिचरा न्वारान देखि बल लगाएर पाएको पद त्याग्न मन लागेन होला रबिन्द्रलाई । कत्रो पदको मोह हो नेपाली राजनितिमा ।

नेकपाकै बहुमत रहेको संसदीय लेखा समितिको उपसमितिले दुईवटा वाइडबडी खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाखको भ्रष्टाचारमा अधिकारीको पनि संलग्नता रहेको भन्दै थप छानविन गरी कारवाहीको माग गर्‍यो । रहस्यको कुरा के हो भने शेरबहादुर तामाङलाई मन्त्रीवाट फिर्ता वोलाउन पूर्व एमालेकै सर्कलवाट ठुलै दवाव आएको थियो भने अहिले चाहिँ रबिन्द्रलाई तिनै सर्कलवाट बचाउने काम भएको छ ।

सेतोलाई कालो र कालोलाई सेतो भन्न लगाउने नेपाली राजनितिमा भोली सरकार, अख्तियार र अदालतले रबिन्द्रलाई वाउडवडी प्रकरणमा सफाय दिए भने पनि खासै अनौठो नमान्दा हुन्छ । यो प्रकरणमा कर्मचारी देखि लिएर मन्त्री र प्रधानमन्त्रीहरु समेत फस्ने देखिन्छ । लहरो तान्दा पहरो गर्जिन्छ, उखान भट्याएर नथाक्ने प्रधानमन्त्री ओलीलाई यो उखान थाहा नहुने कुरै भएन । पहरो गर्जिएला भनेरै चलाख प्रधानमन्त्री ओलीले रबिन्द्रलाई बचाउने प्रपन्चको रुपमा एउटा छुट्टै समिती गठन गर्न भ्याए ।

अलिकती रोगी प्रधानमन्त्री ओलीले एकदिन ख्वाक्क खोक्दै सुनाएथे, `भ्रष्टाचार आफू पनि गर्दैन, अरुलाई पनि गर्न दिदैन ।´ अब रबिन्द्रलाई चाहिँ के गर्नु हुन्छ ? कि प्रधानमन्त्रीको आँखाले लेखा समितिले सार्वजनिक गरेको चार अर्ब ३५ करोड ५६ लाख चाहिँ भ्रष्टाचार देखेन ? यति रकमले देशमा सरदर १५०० झोलुङ्गे पुल निर्माण गर्न सकिन्थ्यो । प्रधानमन्त्री ओलीले दुई बर्ष भित्रमा टुइन बिस्थापित गर्छु भनेर गरेको प्रतिबद्धता पनि पूरा हुने छ । तर प्रधानमन्त्री आफै रबिन्द्रको पक्षमा खुलेर लागेको कुरा जन जानकार छ । यो दुर्भाग्यपूर्ण कुरा हो ।

२०७५ पुष २५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको