समृद्ध मिरुल बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न


मंसिर २२,थवाङ । ‘एकको लागी सबै ,सबैको लागी एक’ भन्ने मुल नाराका साथ थवाङ गाउँपालिका वडा नम्वर ३ मिरुल रोल्पामा रहेको समृद्ध मिरुल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामधन पुन मगर (सौभाग्य) को अध्यक्षतामा पाँचौ वार्षिक साधारण सभा कार्यक्रम शनिवार मिरुलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि थवाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तिमगर, विशिष्ट अतिथि थवाङ गाउँपालिका वडा नंम्वर ३ का वडा अध्यक्ष भिम बहादुर रोका, सेयर सदस्यहरु लगायत स्थानियहरुको कार्यक्रमा उपस्थित रहेको थियो ।

सभा कार्यक्रममा गत आर्थिक वर्ष २०७५÷०७६ को सहकारीले सम्पन्न गरेका गतिविधिहरु अनुमोदन तथा आर्थिक वर्ष २०७६÷०७७ को सहकारीले गर्ने कार्यक्रमहरु वार्षिक सभाबाट पास गरिएको हो । सहकारीले गरेका सम्पुर्ण गतिविधि तथा २०७६÷०७७ मा सम्पन्न हुने कार्यक्रमहरुको विवरण सहकारी अध्यक्ष सौभाग्यले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विरबहादुर घर्ति मगरले समृद्ध मिरुल बचत तथा ऋण सहकारी संस्था एक नमुना संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै, उक्त सहकारी संस्थाको प्रगतिको कामना गरेका थिए । घर्तीले गाउँपालिकाको तर्फबाट हुन सक्ने सहयोगमा गर्ने बताए ।

समृद्ध मिरुल बचत तथा ऋण सहकारी संस्थालाई वहुउदेश्य कृषि सहकारीमा रुपान्तरण गर्नको लागी विनियम पुनरलेखनको वारेमा समेत सभाबाट पास गरिएको छ । साथै सहकारीको सहकारी शिक्षा कोषबाट आगमी माघ महिनामा गाउँपालिका स्तरीय सहकारी विज्ञ, जनप्रतिनिधी, सरकारी निकायका कर्मचारी, विभिन्न संघ संस्थाहरु सग समन्वय गरि सेयर सदस्य र आम जनसमुदायाहरुको सहभागितामा एक दिने विशाल सहकारी शिक्षा सभा तथा सहाकारी सम्बन्धी दुई दिने तालिम सन्चालन हुने पाचौँ वार्षिक सभाबाट पास भएको छ ।

त्यस्तै सहकारी विकास कोषबाट सहकारीमा आवद्ध सदस्यहरु मध्यबाट १० जना महिला,२ जना जेष्ठ नागरीक,२ जना दलित समुदायका व्यक्ति र विपन्न परिवारका २ जना व्यक्ति गरि १६ जनालाई सहकारीले निशुल्क स्वास्थ्य विमा गर्दिने लगायतका कार्यक्रमहरु वार्षिक सभाबाट पास भएको सहकारीका अध्यक्ष रामधन पुन मगर (सौभाग्य) ले बताउनु भयो ।

कुल सेयर पुजीको २० प्रतिशत २ लाख ७४ हजार ७ सय यस आर्थिक वर्षमा सेयर विक्री गर्ने लक्ष्य सहाकारीको रहेको छ । साथै सहकारी संस्थालाई सहयोग गरे वाफत नियमित बचत गर्ने रामसुर वु्ढा मगरलाई सम्मान गरिएको हो भने त्यस्तै कार्यलयलाई सहयोग गर्ने संस्था विकास सरोकार समाज (डिकोस ) रोल्पा र तत्कालीन जिल्ला विकास समिति अन्र्तगतको उच्च गरिवी निवारण कोष (उपाप) लाई समेत सम्मान गरिएको हो ।

वि.स.२०७१ साल भाद्र १० गते बाट सन्चालनमा आएको यस सहकारीमा महिला १५३ जना र पुरुष ६२ जना गरि जम्मा २१५ जना सेयर सदस्यहरु रहेका छन ।

समृद्ध मिरुल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रसाद वुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालक सहकारीका सचिव राजकुमार वुढा मगरले गर्नु भएको थियो ।

२२ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको