देशकै पहिलो डिजिटल मालपोत कार्यालयमा जे देखियो


कात्तिक २२, काठमाडौँ । कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गरेका थिए ।

कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।

डिजिटलाइज्ड मालपोतको अवधारणा आएसँगै सेवाग्राहीले एउटै ठाउँबाट सम्पूर्ण सेवा लिन सक्ने भएका छन् । कलङ्की मालपोत कार्यालयको भौतिक संरचनाको डिजाइन पृथक् देख्न सकिन्छ । भौगोलिक क्षेत्रअनुसार फाँटहरूको व्यवस्था गरिएको छ ।

“त्यसैभित्र सम्पूर्ण प्रणाली व्यवस्थित गरिएको छ । एक ठाउँबाट प्रवेश भएको फाइलको सम्पूर्ण काम त्यही ठाउँमा पूरा हुन्छ,” अधिकृत कमल कार्कीले भने । नमुना मालपोतको अवधारणा आएपछि ल्याइएको एकद्वार सेवालाई सेवाग्राहीले पनि मन पराएका छन् ।

“पहिलेजस्तो सानो रुजुका लागि अर्कोअर्को कोठा र कर्मचारी खोज्दै हिँड्नुपर्दैन,” एक आफन्तको जग्गाको काम लिएर मालपोत कार्यालय आउनुभएका कमल सुवेदीले भने । एउटै फाँटबाट सम्पूर्ण सेवा पाउने भएपछि तुलनात्मक रूपमा कम समयमा काम हुने गरेको सेवाग्राहीको प्रतिक्रिया थियो ।

सचेत सेवाग्राहीले भने एक्लै आएर सेवा लिन पनि कुनै समस्या नहुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारी टोलप्रसाद लामिछानेको अनुभव छ ।

सेवाग्राही आफैँ सचेत हुनुपर्ने बताउँदै उनले भने, “हामी नागरिक बडापत्र पढेर सेवाबारे जानकारी लिएर आउँछौँ । त्योअनुसार नभए सम्बन्धित निकायमा गुनासो गरिहाल्छौँ । त्यसो भएमा बिचौलियाबाट काम लिनुपर्ने वा ढिलासुस्ती हुने सम्भावना कम हुन्छ ।” गोरखापत्रमा खबर छ ।

२२ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको