जनयुद्धको आधारस्तम्भ मैकोटका अमरधन र उनको सपना !


साउन २३, पुर्ब रुकुम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वडा कमिटी गठन भए पश्चात् पुथा उत्तरगंगा गाउँपालिका वडा नं १ रुकुम पूर्वको पार्टी अध्यक्षमा अमरधन पुन सर्वसम्मतिले निर्वाचित भएका हुन् । पार्टीको वडा सेल मजबुत भएपछि मात्र माथिल्लो तह बलियो हुने गर्दछ । जनयुद्धको आधारस्तम्भको रूपमा मानिएको मैकोटको वडा अध्यक्ष पदमा जो कसैले नेतृत्व गर्न सक्दैन । यही परिप्रेक्ष्यमा अध्यक्ष अमरधन पुनसँग पत्रकार कर्मसहि घर्तिले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ :

वडा पार्टीको नयाँ संरचनामा नयाँ अनुहार देखिनु भयो, कतिको सहज भएको छ ?

अमरधन पुन:- गाउँमा काम गर्ने न हो हामीले । गाउँपालिकासम्म हामीले आफ्नो क्षमता अनुसारको काम गर्नु पर्ने हुन्छ । यसमा सबै साथीभाइको माया र हाैसला पाएको छु । यसैले काम गर्न सहज नै हुने कुराको आशा गरेको छु । माथिको कुरामा माथिकै साथिहरूको क्षमतामा भर पर्ने कुरा हो । पहिला कुनै पनि पार्टीको सदस्यसम्म रहेर काम गरेको अनुभव छैन । सामाजिक कामहरूमा सबै साथीहरूको प्रशस्त माया पाएँ । त्यसैको फलस्वरूप आज वडा पार्टीले यो जिम्मेवारी सुम्पिएको छ । जसलाई सबैसँगको आपसी मेलमिलापको वातावरणमा सहज तरीकाले काम गर्नेछु । पुराना स्थापित अगुवाहरूको राय सल्लाह लिएर अघि बढ्ने नै छु ।

वडा पार्टीको नयाँ नेतृत्वमा तपाईंलाई नै चुन्नुको तात्पर्य के होला ?

अमरधन पुन:- खै ! साथीभाइको मेरो काम प्रतिको बफादारीले हुन सक्छ, यो पार्टीको नयाँ नेतृत्वमा मलाई छनाैट गरियो । जसलाई म अनाैठाे मान्दिन । पार्टीमा आधिकारिक काम नगरे पनि जमानादेखि यो गाउँ ठाउँमा हाम्रो माया र स्नेह छ । सायद यसैको आधारमा साथीहरूले मलाई यो वडा पार्टीको नेतृत्वमा चयन गर्नु भएको होला ।

मैकोटका वडा नं १/२ को साझा वन तथा वन्यजन्तु संरक्षण समिति, यार्सा सिजन समिति र वडा पार्टी तीनवटाकै अध्यक्ष भएर काम गर्दा भार हुँदैन ?

अमरधन पुन:- भार त हुँदैन । बरु जिम्मेवार भएको छु । फुर्सदमै छु । फेरि सबै काम एकैचोटी हुने पनि हैन । यी समय र प्रकृया अनुसार फरक दंगमा गर्न मिल्ने काम हुन् । सबै यही गाउँमा रहेरै गर्न मिल्ने काम हुन् । अन्यत्र गएर गर्ने काम होइनन् । त्यसैले यी काम मैले गर्न सक्छु । तर मलाई के लाग्छ भने अब यी सबै पद म मात्र ओगटेर बस्नु हुँदैन । अन्य साथीहरूले पनि यसको जिम्मेवारी लिनु पर्छ भन्ने मेरो मान्यता छ ।

पार्टीको वडा कमिटीमा नयाँ पुराना गरेर कस्ता व्यक्तिहरू छनोट भएका छन् ?

अमरधन पुन:- यहाँ नयाँ पुराना तर वर्तमान समयमा जनताको सेवक भएर काम गर्न योग्य व्यक्तिहरूको जमघट छ । पार्टी र गाउँ दुबैलाई सफल बनाउन विकास निर्माणमा स्थानीय सत्तालाई सुझाव र साथ दिन हामी निरन्तर लागि नै रहनेछाैँ । अर्को कुरा स्थानीय चुनावदेखि भिन्नाभिन्नै रहेर बसेका हामीहरू पार्टी एकता भएर फेरि एक ठाउँमा जम्मा भएका छाैं । विगतका कमजोरीदेखि पाठ सिकेर अघि बद्नुछ । चुनावकै तिक्तता बोकेर बस्याैं भने सही रूपमा समाज र जनताप्रतिको हाम्रो उत्तरदायित्व निर्वाह भएको ठानिदैन ।

पार्टी र स्थानीय सत्ताको सहसम्बन्ध आउँदो दिनमा के हुनेछ ?

अमरधन पुन:- स्थानीय सत्ता भनेको हाम्रो सरकार हो । त्यो स्थानीय सरकार संचालन गर्नेहरू पनि पार्टीकै टिकट पाएर जितेका हुन् । त्यसैले पार्टीको निर्देशनमा जनप्रतिनिधि साथीहरूले जनताको सेवा गर्न इमानदारीपूर्वक लाग्नु पर्छ । यसमा उनीहरूलाई अप्ठेरो हुने ठाउँमा पार्टीको साथ र समर्थन जरुर रहनेछ । हाम्रो सकारात्मक सुझाव सदा जनप्रतिनिधिलाई हुनेछ ।

छिमेकी वडाहरूसँगको आत्मिक सम्बन्ध कस्तो हुनु पर्छ ?

अमरधन पुन:- छिमेकी वडाहरूसँगको सम्बन्ध एकदम असल हुनुपर्छ । जसरी पेल्मासँगको सम्बन्ध गाढा छ । वडा नं २ सँगको हाम्रो सम्पूर्ण काम एउटै हो । हाम्रो वन जङ्गल साझा छन् । हामी विकास र योजनाले मात्र फरक भएका हाैं । हैन भने हाम्रो चरिचरणदेखि सबै काम एकै हो । त्यस्तै रन्मा, हुकाम, अर्जल, मयाङ र खारबाङ्ग लगायतका वडासँग हाम्रो सम्बन्ध राम्रो हुन्छ । हाम्रो एउटै संस्कार र रीतिरिवाजले पनि हामी एक हाैं । त्यसैले हाम्रो सम्बन्ध गलत हुने त कुरै भएन । वडासँग मात्र हैन, यहाँका जनताबीच अझ हाम्रो बलियो नाता छ । अझ बनाउनेछाैं । दुई नम्बर वडाका हार्दिबाङ्ग जुसमर र रल तिज्याङ्ग सँगको नाता उत्तिकै दिगो छ । अझ बनाउने छाैं । हामीले कसैलाई पनि टाढाको हेराइले हेर्नू हुँदैन ।

वडा पार्टीमा नयाँ अनुहार हावी हुँदा पुराना र स्थापितहरू ओजेलमा पर्ने त हैन ?

अमरधन पुन:- जिम्मेवारीले गर्दा नयाँ जस्तो भए पनि हामी सबै वडाबासी सदा झैँ मिलेर जाने खुबी राख्दछाैं । पुराना साथीहरूको अनुभवबाट सिकेर हामी नयाँहरू अघि बढ्नु पर्छ । जहाँसम्म नयाँको सवाल छ , असल काम युग सुहाउँदो काम गर्ने हो नि ! जनतासँगको काम असल तरीकाले गर्नु पर्‍यो । कोही ओजेलमा पर्ने कुरा हुँदैन ।

पहिलेको जस्तो पार्टी सेल कमिटी सक्रिय होला त ?

अमरधन पुन:- हुन्छ । तर नयाँ तरीका र नयाँ योजनाका साथ । पार्टी बलियो हुने भनेकै सेल कमिटीको सक्रियताले हो नि ! पार्टी बलियो हुने भनेकै पार्टी प्रतिको आस्था हुनेहरूको गठजोडले हो । यसैले गर्दा अनिवार्य सेल कमिटी सक्रिय र बलियो हुन नितान्त जरुरी हुन्छ ।

२३ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको