दाङमा ठूलो परिमाणमा गहना तथा नगदसहित एक युवक पक्राउ


फागुन २४, दाङ । दाङमा प्रहरीले चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ९ बेलुवा स्थित जनक शाहीको घरमा कोही नभएको मौकाछोपी घरको मुलढोका तथा कोठाहरुको ढोकामा रहेको ताल्चा फोडी बिभिन्न सामान चोरी गरेर भागिरहेको अवस्थामा प्रहरीले भारत बिहार मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ बस्ने २६ बर्षिय किस्मत महतोलाई पक्राउ गरिएको हो ।

पक्राउ गरी निजको शरिर रितपूर्वक खानतलसी गर्दा निजले वोकेको हरियो रंगको प्लाष्टिकको झोला भित्र रहेको नगद रु ६८ हजार ६ सय ३० तथा सुनको जस्तो देखिने पोते नभएको छड्के तिलहरी एक थान, कालो पोते भएको भारतीय मंगलसुत्र एक थान, भाँचिएको बाला ३ पिस, कानमा लगाउने झालर २ थान, रातो नोक भएको औठी एक थान, छापे औठी थान १ सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

साथै सोही घटनामा संलग्न भारत स्लामापुर छोट्का छप्कौया बड्का मस्जिद नजिक बस्ने ३० बर्षीय शेख साहजत फरार रहेको हुँदा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको