किन गर्दैछन प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन ?


फागुन २४, काठमाडौँ । सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली आज एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन् ।

राउतले देश टुक्र्याउने अभियान त्याग्ने घोषणा प्रधानमन्त्री केपी ओली उपस्थित हुने कार्यक्रममा गर्ने भएका हुन् । तराई मधेसमा अलग्गै राज्यका लागि आन्दोलनरत सिके राउतले विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि उनका सहयोगी डा. विनय पञ्जियारले पनि गरेका छन् ।

सिके राउतले तराई मधेसमा स्वतन्त्र राज्यको माग छाड्दै मुलधारको राजनीतिमा आउने घोषणा कार्यक्रम शुक्रबारै दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवैले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि राष्ट्रिय सभा गृहबाट सिके राउतसँगै प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने कुराको पुष्टि गरेको छ ।

देश विखण्डनको अभियोगमा पटक पटक पक्राउ पर्दै आएका राउतलाई यो पटक पनि सरकारले पक्राउ गरेर केन्द्रीय कारागारमा थुनेको थियो । राउत कारागरामै रहेका समयमा सरकार र उनको पक्षसँग पटक पटक वार्ता भएको खुलेको छ ।

पृथकतावादी राजनीति छाडेसँगै राउतले तत्काल नयाँ पार्टी दर्ता अघि बढाउने भएका छन् । राउतले आफूसँग ३० हजार भन्दा धेरै सक्रिय सहयोगी रहेको र लाखौँ सदस्य रहेको जिकिर गर्दै आएका छन् ।

सर्वोच्च अदालतको आदेशमा हिजो मात्रै रिहा भएका राउतलाई सरकारले एकजना सुरक्षाकर्मी पनि उपलब्ध गराएको छ ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको