सल्यानका गाउँगाउँमा विप्लवको जनसत्ता, भ्रष्टाचारीहरुलाई कारबाही गर्ने चेतावनी


खकेन्द्र केसी/माघ २५, सल्यान । विप्लव नेतृत्वको नेकपाले सल्यानमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ ।

आफ्नो पार्टीले सञ्चालन गरेको उक्त अभियानमा सल्यानमा जनताले राम्रो साथ दिएको नेकपाले जनाएको छ । जिल्लामा अहिले प्रशिक्षण टिम परिचालन गरिएको जानकारी नेकपा सल्यानका इन्चार्ज विश्वले दिएका छन् ।

अभियानमा पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन सल्यान आएका छन् । उनीहरूसहित जिल्लाका अन्य नेताहरूले गाउँगाउँमा गएर प्रशिक्षण तथा जनसभा गरिरहेका छन् ।

सल्यानका विभिन्न वडा तथा गाउँहरूमा जनवर्गीय सङ्गठन तथा जनसत्ता बनाइएको नेकपाका केन्द्रीय सदस्य मिलनले बताए । जनसत्ताले गाउँका दलाल र भ्रष्टाचारीहरूलाई कारबाही गर्ने उनले बताए । उनले भने, ‘पुरानो सत्तालाई फालेर जनताको नयाँ सत्ता स्थापना गर्न जनसत्ताको महत्वपूर्ण भूमिका रहनेछ ।’

यो अभियान सल्यानमा अझै व्यापक रूपमा चलाइने उनले बताएका छन् । बिहीबार मात्रै नेकपाले सल्यानमा ९ वटा सङ्गठन निर्माण गरेको छ । लगातार पानी पर्दा पनि आफ्नो अभियान नरोकिएको नेकपाले जनाएको छ ।

बागचौर नगरपालिका २ मा समीर भण्डारी सेक्रेटरी रहेको १३ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा नम्बर २ कै लस्तममा केसबहादुर बिष्टको अध्यक्षतामा १३ सदस्यीय दलित मुक्तिमोर्चा एकाइ समिति गठन भएको छ ।

वडा २ मै सजन भण्डारीको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन वडा समिति र अमृता वलीको अध्यक्षतामा ११ सदस्यीय महिला वडा समिति निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।

बानपाकै वडा नम्बर १ मा नवीनाको सेक्रेटरीमा ५ सदस्यीय वडा सेल कमिटी भएको छ । वडा १ को कोटवेतमा तुला बस्नेत अध्यक्षतामा १५ सदस्यीय महिलाको एकाइ समिति पनि निर्माण गरिएको नेकपाले जनाएको छ ।

यता छत्रेश्वरी गाउँपालिका ४ खर्सुबासमा लोकबहादुर वलीको सेक्रेटरीमा ५ सदस्यीय खर्सुबास सेल कमिटी निर्माण गरिएको छ । विनिता केसीको अध्यक्षतामा महिलाको ७ सदस्यीय एकाइ समिति गठन गरिएको नेकपा छत्रेश्वरीले जनाएको छ ।

उता दार्मा गाउँपालिका ५ जलेखर्कमा डिल्लीबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय उद्योगव्यापार सङ्गठन समिति बनाइएको नेकपा दार्माले जनाएको छ ।

२५ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको