अरुण तेस्रोको पावर हाउसमा शक्तिशाली बम विस्फोट


माघ २५, काठमाडौँ । अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा गएराति शक्तिशाली बम विस्फोट भएको छ ।

सङ्खुवासभाको चिचिला गाउँपालिका ३ पुखुवाखोलामा बन्दै गरेको अरुण तेस्रोको पावर हाउस नजिकै तीन वटा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन । पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा तीनवटा बम विस्फोट भएका थिए । बम विस्फोट हुँदा दुईवटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

अरुण तेस्रो आयोजना राष्ट्रहितमा नभएको भन्दै राजनीतिक दल र सरोकारवालाहरूले विरोध गर्दै आएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपालगायत पार्टीहरूले आयोजना राष्ट्रघाती भएको भन्दै विरोध गरिरहेका छन् ।

बम कसले र किन विस्फोट गराएको हो भन्ने केही नखुले पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । नेपाल भ्रमणमा आएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको