‘हाम्रो जनप्रदर्शन टेलर मात्रै हो, पूरै फिल्म देखाउन त बाँकी नै छ’


माघ २५, रुकुम  । गोलखाडा सदरमुकाम स्थापनार्थ समितिका सदस्य समेत रहेका नेकपाका युवा नेता संगम रोका मगरले माघ २२/२३ गते गरेको जनप्रदर्शनलाई फिल्मको टेलर मात्रै भएको र पुरै फिल्म देखाउ बाकी रहेको बताएका छन् ।

पोष्टपाटीसंग बोल्दै उनले भने `यदि जनबिरोधीहरु त्यही ढंगले प्रस्तुत भए भने पुरै फिल्म देखाइदिने छौँ ।´

कांग्रेसको नेतृत्वको सरकारको मन्त्रीपरिषदले गरेको निर्णय रुकुम पूर्वको स्थायी सदरमुकाम ‘पूथा-उत्तरगंगा गाउँपालीका १२ `गोलखाडा’ विरुद्ध रिट निवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विरुद्ध दायर भएको सन्दर्भमा सरकारको निर्णय तत्काल लागू गर्न र गराउने उद्देश्यले माघ २२/२३ गते शान्तिपूर्ण जनप्रदर्शन कार्यक्रमलाई मध्यनजर राख्दै प्रशासनले निषेधाज्ञा जारी गर्‍यो ।  निषेधाज्ञा क्षेत्र तोडेमा गोली चलाउन बाध्य भइने भनेर प्रहरीले माइकिङ गर्‍यो ।

`उर्लिएको जनसागरलाई देखेर आर्मीको हेलि मार्फत गस्ति गर्नुको साथै आर्मीको फोर्स थप्ने काम गरियो र अन्य एपीएफ, नेपाल प्रहरीको व्यापक परिचालन पनि गरियो । रिट निवेदन सरकारको विरुद्धमा छ र हाम्रो ‘सरोकार समिति’ सरकारको सपोर्टिङ्गमा यी गतिविधि गरिरहेको छ भने सरकारले त सरकारको डिफेन्समा आयोजित कार्यक्रमलाई स्वागत गर्नुपर्ने होइन र ? सरकारले त आफ्नो विपक्षी रिट निवेदकहरुले सरकारको विरुद्धमा आयोजना गरेको कार्यक्रम सम्झि दमनमा उत्रदा हामी अचम्भित भएका छौँ र यो विषयले हाम्रो ध्यान गम्भिर रुपले आकृष्ट भएकोछ । पूर्ववत नेका नेतृत्वको सरकारले गरेको निर्णय ‘स्थायी सदरमुकाम गोखाडा’ लाई वर्तमान नेकपा नेतृत्व सरकारले उल्ट्याउने हर्कतहरु हामी बग्रेल्ती देखिरहेकाछौँ । म पनि नेकपा कै सदस्य तथा नेता हुँ, म मुक्तकण्ठले भन्न सक्छु कि नेकाले गरेको निर्णय सही र सान्दर्भिक छ; जनपक्षीय छ; न्यायीक छ ।´ रोकाले भने ।

`यो मेरो भावना २२/२३ गते गोल्खाडा र धौलापहिरोमा उर्लिएको हजारौँ आम सहभागि जनताको हो । म जिम्मेवार ढंगले हाम्रो पार्टीको द्रव्य अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ र केपी शर्मा वली, पार्टी सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय समितिसम्म यो कुराको अवगत होस् भन्न चाहन्छौं ।´ उनले गोल्खाडाको विषयमा नेकपा पार्टी भित्रकै जिल्ला स्तरका नेतृत्वहरुले पटकपटक गोल्खाडाको विरुद्धमा विष वमन गरिरहेको प्रसङ्ग उठाउदै पार्टीको ध्यानाकर्षण समेत गरे ।

आफ्नो मतदाताको चाहना र भावना विपरीत हर्कतहरु गर्दा २२/२३ गतेको प्रदर्शनमा निर्वाचित सभासदहरुलाई दिएको आफ्नो मत फिर्ताकोलागि हस्ताक्षर अभियान चलेको कुरा जानकारी गराउन चाहे ।

नेकपाको गढ भत्काउन र काङ्ग्रेसले आफ्नो संगठन बिस्तार गर्नको लागि चालिएको षड्यन्त्र हो भनेर कतिपयले गरेको टिप्पणी माथी रोकाले खुलेरै बिरोध गरे, `अहिलेको मास मुभ्मेन्ट काङ्ग्रेसको गुरु योजना रे, नयाँ शक्तिको इशारामा रे, त्यहाँ सहभागि बहुसंख्यक नेकपाका नेता-कार्यकर्ता र जनमास अब कङ्ग्रेसका नयाँ सारथि रे, हुँदाहुँदा-हुँदा भोलि विप्लवका योद्धाको बिल्ला पनि भिराइदिने होला । यसरि आम भावनालाई काङ्ग्रेस वा अन्य कुनैपनि पार्टीको रङ दिएर पार्टी संगठनलाई निरुत्साहित गर्ने अभिव्यक्ति तथा हर्कत भइरहेको छ जुन मान्य हुनेछैन । पार्टीले आम जनसमुदायको माग तथा भावना के रहेको छ ? समयमै ध्यान दिएर निर्णयमा पुगोस ।

जिल्लाका केहि सिनियर नेता तथा १/२ जना निर्वाचित सांसदहरुको आवाज तथा भनाइलाई मात्र आम जनताको आवाज र भावना बुझि निर्णय लिनुभयो भने २२/२३ गतेको हाम्रो जनप्रदर्शन फिल्मको टेलर मात्र सम्झिनुहोला पूरै फिल्म देखाउन त बाँकी नै छ । रुकुम पूर्वमा हाम्रो नेकपाका पार्टी नेतृत्वहरु कसरि चलिरहेका छन् ? निर्वाचित जनप्रतिनिधिहरु कसरि चलिरहेका छन् कार्यकर्ता र जनताका आम भावना के छन् ? बेलैमा ध्यान जाओस । किनकि रुकुम पूर्वको सदरमुकामको मुद्धाको समाधान न्यायालयले होइन राजनैतिक ढंगले समाधान हुनुपर्छ ।´

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको