पुस २४, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा कपास फिट्ने मेसिन पड्कदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
त्रिवेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा कपास फिट्ने मेसिन जडान गर्ने क्रममा एक्कासी पड्किदा मेसिन संचालनमा कार्यरत कालीकोट घर भइ हाल बर्दिया राजापुर ५ निवासी २८ वर्षका जयकृष्ण न्यौपानेको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
बिहान करिव १० बजेतिर भएको घटना परी त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी जलजला यातायात व्यवसायी समितिमा कार्यरत धनबहादुर पुन, बर्दिया राजापुर ५ का ४२ वर्षका विष्णुचन्द्र न्यौपाने र सल्यान कपुरकोट ६ निवासी ६२ वर्षीय पहलमान पुन घाइते भएका छन् ।
गम्भीर घाइते भएका धनबहादुरको टाउको र छातीमा चोट रहेको प्रहरी चौकी बुढागाउँ कोइलाका प्रमुख यमनारायण श्रेष्ठले बताए । घाइतेहरुको उपचारका लागि दाङ लगिएको छ ।
प्रतिक्रिया दिनुहोस