विवाह गर्न नचाहने एक साउदी युवतीले देश छाडिन


पुष २४, काठमाडौं । थाईल्यान्डको ब्याङ्‌ककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी एउटी साउदी युवतीले आफ्नो जीवन असुरक्षित भएको भन्दै फर्किन अस्वीकार गरेकी छन्।

थाई अध्यागमन अधिकारीहरू १८ वर्षीया रहाफ मोहम्मद अल-कुकुनलाई कुवेत पठाउने प्रयास गरेका थिए। उनको परिवार हाल कुवेतमा छ।

उनलाई चढाएर पठाउन लागिएको कुवेत जाने विमान नउडुन्जेल मोहम्मद अल-कुकुन विमानस्थलस्थित होटलको एउटा कोठा थुनेर बसिन्।

आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्। महिलालाई समान अवसर नदिइने भएकाले धर्म परित्याग गरेको उनको भनाइ छ।

आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनिन्, “मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।”

उनलाई कुवेत पठाउन भनेर थाई अधिकारीहरू उनको कोठाबाहिर उभिइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

मानवाधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गरेका छन्।

ह्युमन राइट्स वाच एशिया क्षेत्रका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकायसँग भेट्न र शरण माग्न नदिइएसम्म कोठाबाट बाहिर नहाउने उनको अडान छ।

समय थोरै भएको र उनी डरलाग्दो परिस्थितिमा रहेको भन्दै रोबर्ट्सनले ती युवतीलाई कुवेत फिर्ता नपठाइयोस् भनेर निषेधाज्ञाका लागि ब्याङ्‌ककको एउटा अदालतमा आवेदन गरिएको बताए।

तर थाई वकिलहरूको सो आवेदन अदालतले खारेज गरिदियो।

रहाफ मोहम्मद अल-कुकुन किन भागिन्?

परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल-कुकुन दुई दिनअघि त्यहाँबाट भागेकी हुन्।

ब्याङ्‌कक हुँदै अस्ट्रेलिया जाने उनको प्रयास थियो।

आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्।

ब्याङ्‌ककबाट बीबीसीका जोनाथन हेड भन्छन् – रहाफ मोहम्मद अल-कुकुन त्रस्त र व्याकुल छिन्।

आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा भएको तर सुर्वणभूमि विमानस्थलमा आफूलाई भेट्ने एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको उनको दाबी छ।

तर साउदी अधिकारीहरूका अनुसार राहदानी उनीसँगै छ र फर्किने हवाई टिकट नभएकाले उनलाई नियन्त्रणमा लिइएको हो।

अस्ट्रेलियामा शरण पाइने उनको अपेक्षा थियो।

ह्युमन राइट्स वाचका मध्यपूर्वका सहायक निर्देशक माइकल पेजले एउटा विज्ञप्तिमा “परिवार छोडेर भागेका साउदी महिलाले उनीहरूको इच्छाविपरीत फर्किए आफ्नै नातेदारबाट कठोर हिंसा, स्वतन्त्रताको अपहरण र अन्य गम्भीर हानि खेप्नु पर्ने हुन्छ” भनेका छन्।

ब्याङ्‌ककस्थित साउदी दूतावासले रहाफ मोहम्मद अल-कुकुनलाई “फिर्ती टिकट नभएकाले” विमानस्थलमा समातिएको र उनलाई उनका परिवारजन बसेको ठाउँ कुवेत फर्काइने जनाएको छ।

साउदी अधिकारीहरूसँग उनलाई ब्याङ्‌ककस्थित विमानस्थल वा अन्यत्र समात्ने अधिकार नभएको दूतावासको एउटा विज्ञप्तिमा उल्लेख छ।

अधिकारीहरू उनका पिताको सम्पर्कमा भएको उसले जनाएको छ।

‘पारिवारिक समस्या’

थाई प्रहरीका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार ती युवती विवाह गर्न नमानेर भागेकी हुन्।

मेजर जेनरल सुरचाते हक्पर्नका अनुसार रहाफ मोहम्मद अल-कुकुनसँग थाईल्यान्डको प्रवेशाज्ञा नभएकाले प्रहरीले उनलाई थाईल्यान्डमा प्रवेश नदिएको र उनी आएकै कुवेत एअर्‌वेजमार्फत् फिर्ता गर्ने प्रक्रिया थालिएको थियो।

तर राहदानी खोसिएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताएका छन्।

योजना ‘रद्द’

स्थानीय समयानुसार दिउँसो ४ बजे हक्पर्नले सम्वादाताहरूलाई ती युवतीको सुरक्षाको चासोका कारण उनलाई कुवेत फिर्ता पठाउने योजना रद्द गरिएको बताए।

थाई समाचार वेब्साइट खाओसोडका अनुसार उनले भने, “यदि फिर्ता पठाउँदा उनको ज्यान जान्छ भने हामी पक्कै पनि त्यसो गर्दैनौँ।”

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरसँग सोमवार नै भेटेर रहाफ मोहम्मद अल-कुकुनबारे कुरा गर्ने उनले बताए। -बिबिसीको सहयोगमा

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको