मंसिर २१, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बंगलादेशसँग ४५ रनले पराजित भएको छ । बंगलादेशसँगको हारसँगै नेपालको फाइन प्रवेश गर्ने झिनो आशा सकिएको छ ।
१५६ रनको लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १११ रन बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ।
कमजोर सुरुवात गरेको नेपाल ११ रनको स्थितिमा दुई चौका प्रहार गरेका पारस खड्का तान्भिर इस्लामको बलमा हसन महमुदको हातमा क्याच आउट भए ।
यस्तै, तेस्रो नंम्बरमा व्याटिङमा आएका पवन सर्राफ तान्भिरको पहिलो बलमा शून्य रनमा आउट भए । त्यस्तै आरिफ शेख पनि शून्य रनमा आउट भए । ४६ रनको स्थितिमा पारीलाई अगाडि बढाएका दीपेन्द्र सिंह ऐरी व्याक्तिगत १६ रन बनाउँदै पेभिलियन फर्किए ।
यसैगरी, नेपालका रोहित कुमार पौडेल ८, विनोद भण्डारी ३ तथा करण केसी एक रनमा आउट भए । नेपालका अनिश बोहरा र ललित राजवंशीले १३ र ५ रनमा नटआउट रहे ।
बंगलादेशका तान्भिर इस्लाम, सुमोन खान,सौम्य सरकार तथा महेदी हसनले समान २–२ विकेट लिए ।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बंगलादेशका नाजमुल हुसेन सान्तोले अविजित ७५ रनको पारी खेले । यस्तै, अफिफ हुसेनले ५२ तथा यासिर अलिले १४ रन जोडे ।
नेपालका पारस खड्काले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस