अभिषेकको गोलमा पहिलो हाफमा नेपालको बराबरी


मंसिर २१, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्ध जारी खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेको छ ।

खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि बारमा लाग्दै फर्केको थियो ।

१८ औं मिनेटमा माल्दिभ्सले अग्रता लियो । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।

२७ औं मिनेटमा हैसम हसानको कर्नरमा अनन्त तामाङको हेडरले गोलरक्षक बिट भएपनि हैसम हसानले गोललाइनबाट उक्त प्रहार क्लियर गरे । त्यसको एक मिनेटमा नै गोलरक्षक विकेश कुथुले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै इब्राहिमलाई अग्रता दोब्बर पार्न दिएनन् । ३१ औं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

३५ औं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् ।

४२ औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे ।

त्यसको एक मिनेटमै नेपालले बराबरी गोल गर्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको