१३औँ साग: स्वर्णमा पुरुषभन्दा महिला अगाडि


मङ्सिर २१, काठमाडौँ । १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् ।

पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका छन् ।

नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ । २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ३७ स्वर्णसहित नयाँ इतिहास रचेको हो ।

आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ । सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । तर, स्वर्णसंख्या सय पुर्‍याउन नेपाललाई ३५ वर्ष लाग्यो । जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्‍याउने कीर्तिमानमा आफ्नो नाम लेखाए ।

तीन वर्षअघि भारतमा भएको १२औँ प्रतियोगितामा तीन स्वर्ण मात्रै लिएर फर्किएको नेपालले यसपटक अपेक्षा नगरेका खेलमा समेत कब्जा जमाएको छ । सागको तीन दशक लामो इतिहासमा पहिलोपटक पुरुष तथा महिला एथलेटिक्समा स्वर्ण जितेको छ । एथलेटिक्समा भारतीय र श्रीलंकन खेलाडी दाबेदार मानिन्थे । महिलातर्फ भारोत्तोलन र स्विमिङमा पनि पहिलोपटक स्वर्ण पाएको छ ।

स्वर्ण र समग्र पदकमा आठौँ साफमा नेपाल दोस्रो बनेको थियो । जारी संस्करणमा पनि अहिलेसम्म दोस्रो स्थानमै छ । नेपालले अहिले पदक बढी प्राप्त गर्नुमा खेलाडीको मिहिनेत नै मुख्य पाटो हो । तर, सँगसँगै अन्य पाटो पनि जोडिएका छन् । आठौँ साफमा १२ खेल मात्रै थिए, अहिले २४ खेल समेटिएका छन् । त्यतिवेला १०६ स्वर्णका लागि प्रतिस्पर्धा थियो, अहिले स्वर्ण संख्या ३२४ छ । प्रतिशतमा हेर्दा यसपटकको नतिजाले आठौँ संस्करणको सफलतालाई भेट्टाउन सकेको छैन । आठौँमा नेपालले कुल स्वर्णको ३० प्रतिशत जितेकोमा यसपालि अहिलेसम्म १३ प्रतिशत मात्रै समेटेको छ । धेरै खेल र पदक भएकाले पनि यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ ।

घरेलु मैदानमा बढी पदक बटुल्ने अर्को पनि कारण छ । सागमा आयोजक राष्ट्रलाई कुन खेल राख्ने वा नराख्ने अधिकार हुन्छ । यही अधिकार प्रयोग गरेर आयोजकले पदक जित्ने खेल राख्ने र आफू कमजोर भएको खेल हटाउनेसम्म गर्छन् । १२औँ संस्करणमा भारतले आफू कमजोर भएको कराते खेल समावेश नै गरेको थिएन । नेपालले पनि यसपटक आफ्नो राम्रो धरातल रहेको मार्सल आर्टका सबै खेल समावेश गर्‍यो ।

स्वर्णको ऐतिहासिक प्रदर्शनमा नेपाललाई मार्सल आर्टकै योगदान धेरै छ । तेक्वान्दोमा २९ मध्ये १२ स्वर्ण नेपालले फुत्किन दिएन । करातेमा पनि १९ मध्ये १० स्वर्ण आफैँ राख्न सफल भयो । आठौँ साफमा पनि तेक्वान्दो र करातेबाटै स्वर्ण संख्या ह्वात्तै बढाएको थियो । त्यस्तै नेपालले पदकको आशा गरेको उसुमा पाँच, साइक्लिङमा चार तथा एथलेटिक्स, ट्रायथलन, भारोत्तोलन, स्विमिङ र गल्फमा दुई/दुई स्वर्ण समेटेको छ । नयाँ पत्रिकामा खबर छ ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको