मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?


असार २२, काठमाडौँ । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ ।

त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताउनुभयो ।

उहाँले भनेझैँ त्यस पेजमा शनिबार बिहानै तीन दिनको बाढी पूर्वानुमानको सूचना प्रकाशित भयो । जानकारीसँगै नदीको नक्सामा बाढीले देखिएको उतारचढाव सहितको जानकारी पनि उपलब्ध छ ।

बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बँेसी सहरमा भएको छ । यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो ।

सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ ।

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ ।

आगामी एक हप्तासम्म प्रायः नदीका जलाधारको बहाव बढ्दै साताको अन्त्यसँगै बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । तटीय क्षेत्रका कृषि उपज असार २८ गतेभित्र थन्काइसक्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सो अवधिदेखि तटीय क्षेत्रमा निर्माण कार्य नगर्न, नगराउन पनि महाशाखाले भनेको छ । त्यस्तै हाइड्रोलोजी डट जीओभी डट एनपी वेब साइटमा राखिएको विस्तृत जानकारी अध्ययन गरेर यात्राको योजना बनाउन र प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ ।

“जुलाई १५ तारिखपछि नदीमा उच्च बहाव हुनेछ,” जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “एक महिनासम्म नदीको बहाव बढ्दा जनजीवन जोखिममा पर्न नदिन सतर्क छौँ । ” उहाँका अनुसार वेब साइटमा कुन खोलाको सतहको अवस्था कस्तो छ भनेर थाहा पाउन रातो, हरियो, पहेँलो, नीलो आदि रङले सङ्केत गरिरहन्छ ।

उच्च बहाव भएपछि वेब साइटमै साइरन बज्छ । “जुन क्षेत्रमा जोखिम बढेको हो, सो क्षेत्रमा तत्काल मोबाइलबाटै म्यासेज पठाउने व्यवस्था छ,” उहाँले थप्नुभयो, “जसका लागि नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेका छौँ । ” बाढी र मौसमको पूर्वानुमानमा फुलफेजको सेवा प्रदान गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो । उहाँका अनुसार जलाधारको सञ्जालमा नेपाल धेरै वर्ष अघिदेखि सक्षम छ ।

उहाँका अनुसार बाढी र मौसमसम्बन्धीे तीन दिनको जानकारी हरेक दिन दिँदै आएकामा हरेक दिन एक हप्ताको जानकारी दिने तयारी विभागले गरिरहेको छ । पहाडमा पानी परे त्यो स्थानमा पहिरो जान सक्छ भने तराई डुबानमा पर्न सक्छ ।

“लगातार ६ घन्टा पानी परेमा पहिरो जानसक्छ भनेर एलर्ट गराउँछौँ,” उहाँले भन्नुभयो, “तराईमा पनि डुबानको सतर्कता गराउँछौँ । ” पहाड र हिमाली क्षेत्रले मात्र ८० प्रतिशत भूभाग ओगटेको छ । नदीको बहाव परीक्षण गर्ने मोडम राख्न निकै कठिन रहे पनि थप सतर्कताका साथ राख्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।

बाढीको पूर्वसूचना

बाढी, जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखा नै गठन गरेर मौसमको जानकारी दिएजस्तै बाढीसम्बन्धी जानकारी बाढी पूर्वानुमानका लागि छुट्टै महाशाखा गठन गरेको करिब ६ महिना पुग्यो । पहिले विभागकै बाढी शाखाले हेर्दै आएको पूर्वानुमानको काम अब छुट्टै महाशाखामार्फत सुरु गरेको हो ।

गएको बुधबारमात्रै महाशाखाले बबरमहलमा आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ ।
महाशाखाले बाढीका कारण नदीको बहाव, वर्षाको खतरा, पहिरो र डुबान हुनसक्ने उच्च जोखिम रहेका २२४ क्षेत्रको पहिचान गरेको छ । जोखिम क्षेत्रलाई प्राथमिकतामा राख्दै ती क्षेत्रमा सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति रोक्न पूर्वसूचना प्रदान गरिरहेको जलविज्ञ विनोद पराजुलीले बताउनुभयो ।

बाढीको पूर्वसूचना दिन देशका १३० स्थानमा स्वचालित बाढीमापन केन्द्र स्थापना गरिएको छ । “केन्द्रमा रहेको राडारले हरेक मिनेटमा नदीको सतह बढे, घटेको जानकारी दिन्छ,” पराजुलीले भन्नुभयो, “सिमकार्ड र मेमोरी कार्डमार्फत महाशाखाको वेब साइटको सर्बरमा ती सूचना अद्यावधिक भइरहन्छ । ” जसका लागि कम्युनिकेसन मोडमले पनि सघाउने गर्छ । उच्च जोखिम भनेर तोकिएको इम्जा, च्छोरोल्पा, वरुण र ठूलागी तालको जानकारी भने भूउपग्रहमार्फत सूचना उपलब्ध हुने पराजुलीले
जानकारी दिनुभयो ।

चौबीस घन्टाको अवलोकन गर्ने प्रणालीले ठूलो पानी परेको र बाढी आएको बखतमा खतराको घन्टी बजाउँछ । महाशाखाका अनुसार पहाडका करिब ५० वटा, हिमालका चारर तराईका करिब ५० बटा नदी बाढीको हिसाबले जोखिमपूर्ण छन् ।

“खतरा र सतर्कताको तह पहिचान गरेर तटीय क्षेत्रमा खबर पठाउने गर्छौं,” पराजुलीले भन्नुभयो, “बाढी वा पहिरोमा कति जनसङ्ख्या जोखिममा छन्, तिनको मोबाइल नम्बर अघिल्लो रात नै सिस्टममा प्रवेश गराइसकेका हुन्छौँ । ” नदीको निरन्तर अवलोकन सातवटा बेसिनका आधारमा गरिन्छ, जसमा कर्णाली, महाकाली, पश्चिम राप्ती, नारायणी, बाग्मती र सप्तकोसी पर्छन् । त्यस्तै मझौला नदीको बहाव पनि पछिल्लो समय निगरानीमा राखिएको छ, जसमा कमला, कन्काई, तिनाउ पर्छन् ।

उपबेसिनमा मुख्य बेसिनका सहायक नदी पर्छन् । सप्तकोसीका सातवटा तथा बाग्मतीका विष्णुमती, मनोहरा, नख्खु, गण्डकीको त्रिशूली, मस्र्याङ्दी, सेती, मादी, कालीगण्डकी उपबेसिनमा पर्छन् । त्यस्तै कर्णालीको सानो भेरी, सानो कर्णाली, पश्चिम सेती तथा महाकालीको चमेलिया लगायतका क्षेत्रमा बाढीमापन केन्द्रको निगरानी रहन्छ ।

पराजुलीले भन्नुभयो, “अब चुरेका २७र अन्य ४० वटा स्थानीय खोलामा पनि स्वचालित प्रविधि जडान गरी तराईमा जनधनको क्षति कम गर्ने योजनामा काम भइरहेको छ, पहाड र ठूला नदीको बहावको असर तराईमा लामो समय रहने हुँदा पूर्वसूचना बलियो पार्ने प्रयास भइरहेको छ । ”

पदपूर्ति नहुँदा समस्या

महाशाखाको सानो शाखा रहँदासम्म शाखामा दुई व्यक्ति नै भए पनि तानतुन गरेर जेनतेन काम भइरहेको थियो तर अब महाशाखा बनिसकेपछि थप जनशक्तिको टड्कारो समस्या उत्पन्न भएको छ ।

जम्मा दुई हाइड्रोलोजिस्टले महाशाखाको काम धानिरहनुभएको छ ।
पराजुलीले भन्नुभयो, “महाशाखा खाली छ भन्दा हुन्छ, हामी दुईले पालैपालो चौबीसघन्टे ड्युटी धानिरहेका छौँ । ” संरचनाअनुसार १५ जनाको दरबन्दी छ । बिरामी गाह्रो साह्रो पर्दाका लागि कामै नजानेका कर्मचारीलाई सिकाएर धान्ने गरिएको छ । विपद्को ठूलो खतरा आइहालेमा धान्न सक्ने अवस्था छैन ।

“गत वर्ष मनसुनको बेला सुत्दै नसुती २१ घन्टा काम ग¥यौँ,” सुनिल पोखरेलले पीडा सुनाउनुभयो, “तल्लो तहको कर्मचारीलाई ल्यापटप दिएर मोडल चलाउन दिएर बुलेटिन अपडेट गर्नु परेको अवस्था हो । ” महाशाखालाई उच्च प्रविधियुक्त र दक्ष जनशक्तियुक्त बनाएमा वर्षात्को सिजनमा हुने राज्यको ठूलो जनधनको क्षति जोगिने मौसमविद्हरू बताउँछन् ।

२२ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको