कैलाली अपडेट: हावाहुरीले दुईजनाकाे मृत्यु, ७५ घाइते


जेष्ठ २४, धनगढी । कैलालीमा बिहीबार राति आएको हावाहुरीका कारण दुईजनाको मृत्यु भएकाे छ भने, ७५ बढी घाइते छन् र ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

तस्बिर कैलालीको क्षेतिग्रस्त बस्ति/कान्तिपुर

टीकापुरमा एकजना, गोदावरी नगरपालिमा एकजनाकोगरि दुईजनाको मृत्यु भएको हो। टीकापुर–२ मा पर्खाल भत्किएर लाहनु डगौंराको मृृत्यु भएको छ भने, गोदावरी–८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो।

चौधरीलाई पूर्वतिरबाट आइरहेको बा३प ३८३६ नम्बरको टिपरले से१प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढीको ढुंगे बजारमा गुडिरहेको हायसमाथि रुख लडेर च्यापिएको अवस्थामा राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते बाहेक अन्य क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ।

हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन्। उनीहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ। धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया शिविरका सबै घरका छाना उडाएको छ। पोलहरु ढलेकाले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ।

जताततै रुखहरु भाँचिएका छन्। कतिपय स्थानमा सडक अवरुद्ध छ। करिब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो। हुरीले छाना उडाएको र मुसलधारे वर्षा पनि भएपछि पीडितहरुको झन् बिजोग भएको थियो।

२०७६ जेष्ठ २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको