संयोजक कार्कीलाई उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश


फागुन २३, काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई तीन दिनभित्र लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

कार्की पत्नी पवित्रा केसीले हिजो बुधबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज प्रारम्भिक बहसपछि भएको सुनुवाईमा न्यायाधीश टंकबहादुर मोक्तानको एक इजलासले गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा महानगरीय परिसर टेकुलाई सो आदेश दिएको हो ।

ने.क.पा.का नेतासमेत रहेका कार्कीलाई यही मंगलबार राजधानीको सामाखुसीस्थित डेराबाट दिउँसो १२ बजेतिर सादा पोशाकमा आएका प्रहरीको टोलीले गिरफ्तार गरेको थियो । कार्कीलाई अहिले टेकु प्रहरीको हिरासतमा राखिएको छ ।

आजको बहसमा रिट निवेदकको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल र राजु अधिकारीले पैरवी गरेका थिए । संयोजक कार्की यसअघि पटकपटक गिरफ्तार पर्दै र रिहा हुँदै आएका थिए । महासंघ ने.क.पा.निकट किसानहरुको संगठन हो ।

पछिल्लो समयमा सरकारले ने.क.पा. र तिनका जनवर्गीय संगठनका नेतृत्व, कार्यकर्ता साथै समर्थकमाथि समेत धरपकड श्रृंखला बढाउँदै लगेको छ । त्यसविरुद्ध ने.क.पा.ले पनि विभिन्न आन्दोलन चलाउँदै दमन र गिरफ्तारको घोर विरोध गर्दै आएको छ ।

आजै मात्र प्रहरीले ने.क.पा.ले तालिम संचालन गरिरहेको आशंकामा कपिलवस्तुको शिवगढीस्थित सिम्बरी गाउँलाई रातिदेखि नै घेरा हाली तलासी लिएको छ । त्यसबेला बिनाकारण खानतलासी गरेर सर्वसाधारणलाई आतंकित तुल्याएको भन्दै स्थानीयले प्रतिरोध समेत गरेका छन् । जनप्रतिरोधपछि प्रहरी टोली पछि हटेको थियो ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको