पुरुषबादको दासत्वबाट मुक्ति पाउन महिलाहरु राजनीतिमा जाउँ !


दिपा बुढा मगर । अहिले म छोरी भएर जन्मेकोमा पछुतो भन्दा पनि गर्वले छाती फुलेर आउँछ । तर जब म १३/१४ बर्षको थिएँ, एकदिन खुल्ला आकाश मुनि मेरो घर आगनमा आकाश तिर हेरे । रातीको चम्किरहेका ताराहरुलाई नियाल्दै सोचे कि ‘हे भगवान म केटा मान्छे भइदिएको भए, बिदेश गएर धेरै पैसा कमाएर बाउ आमालाई सुख र सुबिधा दिन्थे’ ।

त्यो बेला चेतनागत हिसाबले म अपरिपक्क थिए । सोच्थे कि यो भगवान भनेको को हो ? जसले महिला र पुरुषको बिचमा भेदभाव किन गरेको होला ?

यस्तै कुराहरु सोच्ने गर्थें । आखिर त्यो बेला ‘म केटा भइदिएको भए’ भन्ने मनमा बिचार उत्पन्न गराई दिने मेरो समाज, मेरो देशमा भएको कुरिती, कुसंस्कार, कुनियम अथवा हाम्रो देशमा ब्याप्त पुरुष प्रधान समाजले निम्त्याएको सोच थियो ।

मलाई चेतना थिएन कि परिवर्तन भन्ने कुरा आफैंले सुरु गर्नु पर्छ । आफैंबाट हुनु पर्छ । अरुले पकाइदेला र खाउँला भन्दै अर्काको आशमा बस्नु भन्दा आफ्नो लागि आफै पकाएर खानु पर्छ भन्ने कुरामा बिल्कुलै अनबिज्ञ थिएँ, अर्थात म संग परनिर्भरताको सोंच थियो ।

हाम्रो समाज यतिसम्म कुरिती र कुसंस्कारमा अल्मलिरहेको छ कि उदाहरणका लागि नेपालको सुदुरपश्चिमका महिलाहरुलाई हेरौं, प्राकृतिक नियम अनुसार महिला रजस्वला हुँदा गोठतिर लुकाउने चलन छ । जसको परिणाम कयौं महिलाहरुले सर्पले डसेर अकालमा ज्यान गुमाउनु परेको छ । कयौं दिदिबहिनी बलात्कारको शिकार हुनुपरेको छ ।

महिलाहरुका प्रत्यक गतिबिधिमा समाजले निगरानी बढाएको छ । अलि खुलेर हास्यो भने केटि मान्छे भएर जोडले हास्नु हुँदैन रे । अलि तर्क गर्न खोज्यो भने केटी मान्छे भएर बढी बोल्नु हुँदैन रे । समाजलाई चुनौती दियो भने उत्ताउली रे, बिग्रेको रे । समाजले दिने यस्ता उपनामहरु नगन्य छन् ।

अझ जोडले हिंड्दा पनि आवाजै ननिकाली हिँड्ने रे । खाने कुरा खाने वेलामा पनि आवजै ननिकालेर खाने रे । एउटी छोरी मान्छेलाई समाजले गर्ने टिप्पणीहरु हुन् ।

यी त केहि उदाहरणहरु मात्रै हुन् । यस्ता यावत परिबन्धनहरु हाम्रा समाजमा ब्याप्त छन । यस्ता कुसंस्कारहरुले हामी महिलाहरुले सोच्ने सोंचहरुमा कसी लाग्ने गरेको छ, कि बोल्न, चल्न, हिड्न तिनै नारीहरु नापेर वा तौलेर कदम चाल्नु पर्नेछ ।

नेपाल यसै पनि पुरुष प्रदान देश हो । यो समाजले हामीलाई बराबरको हिस्सा दिएको छैन, दिदैन । राज्यले अहिले ३० प्रतिशत अधिकार दिएको छ । अधिकार भन्ने कुरा दयाले दिएर हुन्छ ? पुरुषले गर्ला र खाउला भन्ने पुरानो सोंच त्यागेर समाजमा ब्याप्त यी कुरिती र कुसंस्कारलाई तोड्नको लागि हामी आफैं राजनितिक शक्तिमा पुग्नको बिकल्प छैन ।

हाम्रा लागि नीति र नियमहरु कुनै पुरुषले निर्धारण गरिदिने बिषय होइनन ! हामी आफैले बनाउने हो ।

यसो भनी रहदा हाम्रो देश महिला राष्ट्रपति नभएको देश पनि होइन । तर महिला राष्ट्रपति भएको देशमा निर्मलाहरु बलत्कृत हुन्छन् । एउटा राष्ट्रपति महिला भएर मात्रै हुँदैन । महिला न्यायाधीश, महिला सिडियो, महिला सेनापती र महिला प्रधानमन्त्री हुने शाहस बटुल्नु पर्छ ।

अबको राजनितिमा आउने महिलाहरुले चाहिँ नयाँ ढङ्ग र नयाँ शैलीबाट राजनिती गर्न सिक्नु पर्छ भन्ने मेरो ठम्याई हो । महिलाहरु राजनितिमा आउनुपर्छ भन्नुको तात्पर्य के हो भने मंगोल पिता युग पुरुष अमर डा. गोपाल गुरुङको मुल सिद्धान्तले भन्छ कि, ‘राजनिती भनेको बास्तबमा सबै बन्द ढोकाहरुलाई खोल्ने एउटा मास्टर चाबी हो’ ।

महिलाका लागि बन्द भएका ढोकाहरु खोल्नको लागि आफै मास्टर चावी बन्नुपर्छ । समाजमा ब्याप्त परिबन्धहरुबाट मुक्त भई स्वतन्त्रपुर्बक बाँच्नको लागि हामी महिलाहरु आफ्नो कानुन आफै बनाउन नउठि हुँदैन । नत्र फेरि पनि चुलो र चौकोमै जीवन बिताउन बिबस हुनेछौं । परनिर्भरताको कसीमा उभिन बाध्य हुनेछौ र पुरुषबादको दासी जिवनमा कैदी भैरहने छौ ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको