‘फेक न्यूज र फेसबुकको सङ्क्रमण’


पुरुषोतम लम्साल । अनुसन्धान भन्छ, ‘लागूपदार्थ दुव्र्यसनी र डिजिटल स्मार्ट दुव्र्यसनी, दुबैको मस्तिष्कको एउटै भाग उस्तै प्रकारले सक्रिय हुन्छ ।’ एउटा फेक न्यूज बन्छ, त्यसैलाई अनलाइनले अझ उत्तेजक बनाउँछ । प्रयोगकर्ता त्यसलाई आँखा चिम्लेर शेयर गर्छन् । सञ्जालको जञ्जाल त्यसैमा जोडिन्छ, एक कान दुईकान मैदान हुँदै मिनेटमै भीड बन्छ । यस्तो भीडको सम्पर्कमा कम रहौं, कम संक्रमित होऔं ।


***
तपाईलाई थाहा छ मार्क जुगरबर्ग आफैं कलर ब्लाइन्डनेस (रंगहरु छुट्याउन नसक्ने एक प्रकारको रोग) रागी हुन् ? थाहा नभए पनि केही छैन । तिनको फेसबुक नामको सामाजिक सञ्जालले दुनियाँ ब्लाइन्ड (दृष्टीविहीन) बनाउँदै लगेको त थाहै होला । दुनियाका लागि एड्स, अर्बुद, संक्रामक भाइरसभन्दा ‘फेसबुक एडिक्सन डिसअर्डर (Facebook Addiction Disorder) खतराजन्य रोग र समस्या बन्दै छ ।

फेसबुक भन्छ, हरेक सेकेन्ड पाँच नयाँ प्रयोगकर्ता बढ्छ । हरेक दिन ३० करोड तस्वीर र प्रतिमिनेट ३ लाख स्ट्याटसमा ५० हजार प्रयोगकर्ता बाँधिन्छन् । विश्वको झण्डै आधा जनसंख्या फेसबुक सङ्क्रमित छ । दैनिक सवा अर्ब जनसंख्या फेसबुकमा झुण्डिन्छ । गत वर्षको तथ्याङ्कअनुसार १४—३९ वर्ष उमेर समूहको ६० प्रतिशत यो कुलतमा रहेछ । नेपालको जनसंख्याको तीनगुणा (१० करोड) त फेक अकाउन्ट नै रहेछ । पछिल्लो ६ महिनामा मात्र ७८ हजार फेकन्यूजले दुनिया बेवकुफ बनायो । हामी पनि दैनिक फेक न्यूजको शीकार बनिरहेका छौं, बन्नसक्छौं । यही फेक अकाउन्ट र फेक न्यूज प्रवाह अहिले विश्वको टाउको दुखाई बनिरहेको छ । सन् २०१७ को यो वर्ष शब्द (Word of the Year) या अहिले विश्वलाई पीलो बनेर पिरिरहेको छ ।

सरकारले ठीक भन्यो

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले साताअघि सामाजिक सञ्जाल नियमन गर्न आवश्यक रहेको बताए । सरकारविरुद्ध ट्रोल, ब्यंग्य छायो । सबैले बिर्सिए सामाजिक सञ्जालमा छाएको ‘फेक न्यूज’बाट कसरी दुनिया शिकार कसरी भइरहेको छ, किन विश्व सुरक्षा र गोपनियताको चिन्तामा समाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन बनाउन प्रयत्नरत छ ?

व्यक्तिगत, वाक तथा अभिव्यक्ति र सूचनाको स्वतन्त्रताको पक्षपोषण गर्ने, मानवअधिकारका चर्का कुरा गर्ने विश्वका उदारवादी भनिएका देशहरु नै कसरी ‘फेक न्यूज’ र सामाजिक सञ्जालको चक्रब्यूहबाट बाहिर निस्कन प्रयत्नरत छन् भनेर उनीहरुले खोज्ने प्रयत्नै गरेनन् । प्रयत्न गर्थे होलान् त बेलायतको कुरा गर्थे होलान्, जर्मनीको कुरा गर्थे होलान्, छिमेकी भारतकै पनि कुरा गर्थे होलान् । तर गरेनन् ।

किनकि, उनीहरु ट्याब्लेट र स्मार्टफोन बोकेका ‘स्मार्ट बेवकुफ’ मात्र हुन् जो छाडापनलाई स्वतन्त्रताको अर्थमा बुझ्छन् । तिनलाई स्वतन्त्रताको अर्थ एक्लै रमाउनु र मन परेको गर्न पाउनपर्छ भन्ने मात्र छ । झुठको झाडीमा हराउने र वाहियात लोकप्रियताको कसीमा तौलनेलाई यो स्वतन्त्रता अत्याधिक प्रिय लाग्दोरहेछ । तर, मानवीय मूल्य र मान्यतामा यसले पारेको असर नलेख्ने, सामाजिक अराजकता र अपराधको बढ्दो आयाम नदेख्ने हुँदो रहेछ । यसबाट चाँहि तिनीहरु भाग्दारहेछन् ।, ‘फेक न्यूज’ विस्तारको टुक्रालाई उनीहरुले भ्रष्टाचार र स्वेच्छाचारविरुद्ध बोल्ने स्वतन्त्रतासँग दाज्ने ठीठलाग्दो गरिबी देखाए उनीहरुले । गल्ती वा अपराध गर्न पाउनपर्ने पनि माग हुन्छ दुनियामा ?

‘फेक न्यूज’को ब्यथा

सामाजिक सञ्जालसँग जोडिएको नेपाली पुस्ता म्यानमा (बर्मा) को रोहिंग्या शरणार्थी र, दोस्रो सिरिया मामिलामा जानकार छ । दुबै खबरको जड ‘फेक न्यूज’सँग जोडिएको चाँहि कमै जानकार छन् । म्यानमामा एक बौद्धमार्गी महिलालाई प्रभावमा परेर ‘फेक न्यूज’वालाले प्रहरीमा उजुरी लेखाए कि उनलाई दुई मुस्लिम युवकले जबरजस्ती गरे । समाचार फैलियो, भोलीपल्टै प्रदर्शन शुरु भो । सरकारले अस्थायी रुपमा फेसबुक बन्द गरायो । जातीय हिंसाको यो फेक खबरको शिकार लाखौं रोहिंग्या मुसलमानले शरणार्थी बनेर तिर्नपर्यो ।

उता, सिरियाली राष्ट्रपति वसार अल असादले नागरिकमाथि रासायनिक हतियारले आक्रमण गरेको ‘फेक न्यूज’ यति शक्तिशाली बन्यो कि हामीले भित्तो त रंग्यायौं नै गालामा रंग पोतेर ‘असाद …मुर्दाबाद् !’ पनि भन्यौं । सामाजिक सञ्जालले दुनियाको विवेक कसरी हडपेको छ भन्न यही उदाहरण बलियो छ ।

हिलारी क्लिन्टनलाई पार्किन्सन्स रोग लागेको खबर होस् वा आतंकवादी संगठन आइएसआइएसलाई एञ्जेला मर्केलले यूरोपमा अनुमति दिने घोषणा, ‘फेक न्यूज’ले दुनियाको सरकार र सत्तालाई नै असहज बनाइदियो । अमेरिकाको टेक्सासमा इबोला भाइरस भेटिएको फेक खबर नेपाली टेलिभिजनमा समेत मज्जाले बज्यो ।

जर्मनीमा भएको एक अध्ययनले त्यहाँको दक्षीणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनीले सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गरेपछि शरणार्थीविरोधी गतिविधि असामान्य रुपमा बृद्धि भएको देखायो । एउटै झूठो खबर पत्याएर गत वर्ष खेमनित्स शहरमा भएको हजारौंको प्रदर्शन फेकमा टुंगियो । भारतमा हिन्दु—मुस्लिम, भारत—पाकिस्तानलाई उत्तेजित बनाउने फेक न्यूजको बाढी नियन्त्रण गर्न सबैभन्दा धेरै ‘फ्यान फलोअर्स’ भएका राजनीतिकर्मी नरेन्द्र मोदीले पनि सकिरहेका छैनन् । मलाई त भारतीय संचार माध्यम आफैं ‘क्राइम सिन’ जस्तो घीन लाग्छ, ‘फेक न्यूज’ को के कुरा !

नेपाली समाजमा मूलत: तीन विषय अस्थीरतामा लैजान सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । जात, धर्म र, राजनीतिक विचारधारा । जातीय विद्वेष, साँस्कृतिक चुनौती र राजनीतिक द्वन्द्व तीनै कुराका लागि सामाजिक सञ्जाल हतियार हुने अभियान बढ्दो छ । अत्यन्त तल्लो स्तरमा नंग्याउने, बंग्याउने र त्यसलाई सामाजिक सञ्जालमा छर्ने रोगले महामारीको रुप लिंदैछ । कुँडाकर्कटमा फाल्न मिल्ने हजारौं ‘अनलाइन पोर्टल’ नियमन गर्न नसक्दा अराजकता मौलाउँदो छ । सयौं यूट्युब च्यानल चर्पीभन्दा पनि फोहोर र घिनलाग्दा छन् । समर्थक र विरोधीका नाममा खडा गरिएका संगठित समूह लागूऔषध दुव्र्यसनभन्दा बढी विषाक्त देखिएका छन् । सामाजिक सञ्जाल सामाजिक अपराधको जड र विकृत मनोरोगको भट्टी बन्दैछ । र, मान्छेहरु भन्छन् समाजिक सञ्जाल नियमन गर्नु स्वतन्त्रताको खिलाप हो । होइन, सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नु आवश्यक मात्र होइन अनिवार्य छ ।

स्वतन्त्रताको शास्त्र

व्यक्तिको आत्मपरक काममा राज्यको हस्तक्षेप आवश्यक छ ? ….छ । व्यक्तिवाद र व्यक्तिगत स्वतन्त्रताको शास्त्रीय सिद्धान्तले जुकरबर्गकालीन समाजमा काम गर्छ ? ….गर्दैन ।

यसैले व्यक्तिको गतिविधिमा राज्यको हस्तक्षेप हुनुहुँदैन भन्ने निरपेक्ष उपयोगितावादी तर्क ‘फेक न्युज’कालीन समाजमा हानिकारक छ । त्यसैले जोन स्टुवार्ट मिल जसलाई हामी व्यक्तिगत स्वतन्त्रताको आवाज बुलन्द गर्ने दार्शनिक भन्छौं, उनले पनि अरुलाई आघात पार्ने वा समाजलाई सिधा नकारात्मक प्रभाव पार्ने कार्यमाथि राज्यको हस्तक्षेपलाई औचित्यपूर्ण ठहर गरेका छन् ।

मिलले लोकमत ‘पब्लिक अप्सन’लाई सहनशील, मत मतान्तरको महत्व दर्शाउने र मानवीय ज्ञान अभिवृद्धि गर्ने रुपमा व्याख्या गरेका थिए । आजको ‘फेक न्युज’कालीन संसार यो स्वतन्त्रतालाई घृणाभाव फैलाउने, सहिष्णुता भाँड्ने, एकता खण्डित गर्ने अभियानमा छ । यसैले अराजक स्वतन्त्रताले नै व्यक्तिगत स्वतन्त्रतामा कैंची लगाउनपर्ने परिस्थिति माग गर्छ । लगाउनुको विकल्प राज्यसँग छैन ।

स्वतन्त्रताको पुलमा हिंड्नु व्यक्तिको अधिकार होला । पुल असुरक्षित छ तर हिंड्ने व्यक्तिलाई उक्त असुरक्षाबारे थाहा छैन भने उसलाई अघि बढ्नबाट रोक्नपर्छ । खोला तर्न दिनुको अर्थ नागरिकलाई जोखिममा पर्न दिनु होइन, उसको सुरक्षा राज्यको दायित्व हो, कर्तव्य हो । यो अवस्थामा खोला तर्न पाउने व्यक्तिको अधिकारमाथि अंकुश लगाउनु जायज हुन्छ । मिल यही भन्छन् ।

जनताले लोकतान्त्रिक स्वतन्त्रता प्राप्त गर्नुको अर्थ समाजमा निकृष्ट र आपत्तिजनक विचार प्रवाह गर्ने अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ भन्छन् । उपयोगवादी हुनुको अर्थ अनैतिक वा छाडा हुनु हो ? यसर्थ, स्वतन्त्रतालाई अनैतिक रुपमा दुरुपयोग गर्नेमाथि नियन्त्रण आवश्यक र जायज दुबै छ । अरुको आत्मसम्मानको भावना र व्यक्तिगत गरिमामाथि आघात पार्ने प्रवृत्ति स्वतन्त्रताको अर्थभित्र पर्छ ? शास्त्रीय उदारवाद र स्वतन्त्रताको वकालत गर्दागर्दै मिलले पनि आफ्नो विचारमा शंसोधन गरे कि सामाजिक हितका लागि स्वतन्त्रतामा अङ्कुश लाग्नसक्छ । यहाँ त जाती, भाषा, धर्म, संस्कृति, सम्प्रदायमाथि अनैतिक विषयवस्तु सृजना गरी संगठित आक्रमण गर्ने अभ्यास व्याप्त छ । यसैले राज्यले अराजक स्वतन्त्रतामाथि कैंची लगाउन आवश्यक र जायज दुबै छ ।

बहूमतलाई जति बोल्ने अधिकार हुन्छ, अल्पमतलाई पनि त्यत्तिकै अधिकार प्राप्त छ । तर, झुठको प्रचारले सत्य अझ मुखरित भएर आउँछ भन्नु दुई सय वर्षअघिको कोरा आदर्श मात्र हो । किनकि, त्यतिबेलासम्म समूह, समाज अराजक र मूठभेडको बाटोमा गइसकेको हुन्छ । द्वन्द्वको खेती मौलाइसकेको हुन्छ । भीड अनियन्त्रित भइसकेको हुन्छ । किनकि, यो मिल (जे एस) कालीन समाज होइन, जुकरबर्गकालीन ‘फेक न्युज’, ‘फेक सूचना’को संसार हो जसको सम्मोहनमा विश्वको आधा जनसंख्या विक्षिप्त छ ।

उत्तरआधुनिक महामारी

संसारमा प्लेग र हैजाको महामारी धेरैपटक फैलियो । चीनबाट फैलिएको द ब्ल्याक डेथ (१३३४) नामको प्लेग महामारीले पुरै यूरोप कज्यायो , एभिएन फ्लू (१९५७)बाट बीसौं लाख मान्छे मरे । टाइफुस ज्वरो (१९४५)ले विश्वयुद्धमा बचेका ३० लाख रुसी नागरिकको ज्यान लियो । जस्टिनियन प्लेगले त्यतिबेलाको विश्वको तीन करोड व्यक्ति मारेका अनुमान छ । ठीक सय वर्षअघिको संक्रामक फ्लू पहिलो विश्वयुद्धभन्दा विनाशकारी भएर आयो र चार करोडभन्दा बढीको ज्यान लिएर सेलायो ।

परारै स्वाइन फ्लू आयो, पोहोर फेरि इबोला संक्रमण भित्रियो । यी त महामारी र रोग भए जसको असर शरीरमा देखिन्छ र उपचार उपलब्ध नभए ज्यान जान्छ । अहिलेको महामारी झुठा खबर वा फेक न्यूजको हो जसले कुनै पनि बेला कुनै पनि कुनामा रक्तपात निम्त्याउन सक्छ । यसैलाई उत्तरआधुनिक महामारी भनिएको हो । फेक न्यूज र सामाजिक सञ्जालको सम्मोहनमा परेको समाज नैतिकता र विवेक गुमाएर खतरनाक स्वतन्त्रताको बन्दी बनिरहेको बेला दुर्घटनाको जोखिम सधैं रहन्छ ।

सचेत होऔं । सावधान बनौं ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको