‘प्रदेशसभा सदस्यको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’


फागुन २२, रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन्।

प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए।

बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको घटना निन्दनीय भएको टिप्पणी गरे। अर्का सदस्य वसिउद्दिन खानले प्रहरीले प्रदेशसभा सदस्यलाई हेप्ने काम गरेकामा आपत्ति जनाए। ‘सांसदले गल्ती गरेको भए सभामुखमार्फत जानकारी गराएर कारवाही गर्नुपथ्र्यो’, उनले भने, ‘यस्ता कार्य गरेर हाम्रो मनोबल घटाउने काम नगरियोस्।’

राजधानी विशेष समितिको समय थप

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन बनेको विशेष समितिको समय थप गरिएको छ। प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय तीन महीना थप गरेको हो। प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले प्रतिवेदनका लागि थप समय माग गरेकाले प्रदेशसभाले समय थप गरेको हो।

विशेष समितिले प्रदेशको नामकरण सम्बन्धमा तीन र स्थायी राजधानी सम्बन्धमा आठ प्रश्नावली निर्माण गरी प्रदेशका विभिन्न जिल्लाबाट सुझाव सङ्कलन गरेको थियो।

तीन महीनाको अवधिमा प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन तयार गर्ने भनिए पनि समयावधि समाप्त भएपछि पुनः मङ्सिरको अन्तिममा प्रदेशसभाबाट विशेष समितिको म्याद थप गरिएको थियो। प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी र नामकरण गर्ने संवैधानिक व्यवस्था छ। रासस

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको