भेनेजुएलाबारे पार्टीले बोलेको आधिकारिक हो, अरु कुराको अर्थ छैनः प्रचण्ड


माघ २४, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, ‘परराष्ट्र मन्त्रालयबाट जुन स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’

मंगलबार प्रधानमन्त्रीसमेतको उपस्थितिमा सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उहाँले बताउनुभयो । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उहाँले उल्लेख गर्नुभयो । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा दाहालको भेनेजुएलासम्बन्धी वक्तव्यमा ‘अलिअलि चिप्लिएको’ भन्दै असन्तुष्टि जनाउनु भएको थियो । जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन अर्थमा त्याे कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गर्दै त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकबाट पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्ने वक्तव्य आइसकेकाले त्यसमा व्यक्तिले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने पनि स्पष्ट पार्नुभयो ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी गर्नुभयो ।

दाहालले सरकारले नागरिकको पक्षमा नयाँ–नयाँ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’

पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महिनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताउनुभयो । आज कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने उहाँको भनाइ छ । फागुन र चैत महिनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उहाँले बताउनुभयो ।

आफ्नो क्षेत्रमा धेरै काम भएको भन्ने प्रश्नमा उहाँले सबै योजना अहिलेको नभएर पूर्ववर्ती सरकारको पालाको भएको प्रष्ट पार्नुभयो । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने माडीवासीको समस्याको विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक हुनु भएको भन्दै उहाँले माडीको विकास, नागरिकको सुरक्षा र निकुञ्जको विषयमा ठोस कदम चाल्न लागिएको बताउनुभयो ।

२०७५ माघ २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको