रोल्पामा यात्रुवाहक बस पल्टिंदा २ को मृत्यु, ४ को अवस्था गम्भीर


पुस २३, रोल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रोल्पाको सुलिचौरबाट सिर्पतर्फ गइरहेको आर्शिवाद यातायात सेवा समितिको ग १ ख ५५११ नम्बरको बस सोमबार लुंग्री गाउँपालिका वडा नं. ३ जुतुङखोलामा दुर्घटना हुँदा चालकसहित एक जना बालकको मृत्यु भएको छ ।

दिउसो सुलिचौरबाट जुतुङखोला तर्फ भइरहेको बस एक्कासी सडकबाट करिव १०० मिटर तल भएको थियो । दुर्घटनामा चालक प्यूठान सारी ५ का २४ वर्षिय नमराज आले र लुंग्री गाउँपालिका ३ जुतुङखोलाका ११ महिने बालक नितेश विश्वकर्माको मृत्यु भएको सुनिलस्मृति गाउँपालिका स्वास्थ्य विभाग प्रमुख मोति आलमले जानकारी दिए ।

दुर्घटनामा परी घाईते भएका ४ जनाको अवस्था गम्भीर  रहेको बताइएको छ । घाईतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लिएर उपचार गरिरहेको र अन्यलाई उद्धारको काम भइरहेको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयबाट उद्धारका लागि टोली परिचालन गरिएको छ । सुलिचौरबाट अलि टाढा र रात परीसकेकोले उद्धार कार्यमा कठिनाई भएको इलाका प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

नेपाल प्रहरी, स्थानीयबासीहरुले उद्धार गरिरहेको स्थानीयबासी पवित्रा बुढाथोकीले जानकारी दिएका छन् ।

-मानसिंह विश्वकर्माको सहयोगमा

२०७५ पुष २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको