जलपरी गौरिकाले जितिन् पौडीमा अर्को ऐतिहासिक स्वर्ण


मङि्सर २०, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रबार गौरिकाले स्वर्ण जितेकी हुन्।

गौरिकाले १३औं सागको बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। दक्षिण एसियाली पौडीमा खासगरी भारत र श्रीलंकाली खेलाडीको दबदबा रहँदै आएको छ। तर, बिहीबार सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित नवनिर्मित हिटिङ पौडी पोखरीमा गौरिकाले बलिया राष्ट्रहरूको एकाधिपत्यलाई तोडिन्।

गौरिकाले निर्धारित दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन्। उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्। रजत पदकमा समेटिएकी भारतीय खेलाडी शिभांगी शर्माले निर्धारित दूरी पार गर्न दुई मिनेट ७.१९ सेकेन्ड समय खर्चिइन्। प्रारम्भदेखि नै गौरिकाले शिभांगीसँग झिनो अग्रता कायम राखेकी थिइन्।

बिहीबार ऐतिहासिक पदक दिलाएकी गौरिकाले नेपाललाई शुक्रबार अर्को स्वर्ण दिलाएकी हुन्।

बिहीबार उनले एकल पौडी अन्तर्गत पहिलो ऐतिहासिक स्वर्ण जितेकी थिइन्। तीन वर्षअघि ब्राजिलको रियो दि जेनेरियोमा विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ नेपाललाई चर्चित बनाएकी जलपरी हुन् गौरिका।

गौरिका त्यो ओलम्पिकमा भाग लिने विश्वकै सबैभन्दा कान्छी खेलाडी थिइन्। त्यतिबेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो।

त्यसको तीन वर्षपछि अहिले फेरि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी दक्षिण एसियाली राष्ट्रहरूको ‘मिनी ओलम्पिक’ का रूपमा परिचित सागमा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्। यसअघि नेपालका कुनै पनि खेलाडीले पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेको थिएन।

२० मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको