कोरियामा सीताको वन लेग डान्सपछि पाईन ठुलो सफलता [फोटोफिचर]


मङ्सिर २०, काठमाडौं । नेपाली स्टेज तथा बिभिन्न साँस्कृति कार्यक्रममा शास्त्रीय एक खुट्टा नृत्याङ्गनाको रुपमा परिचित सीता सुबेदी यतिबेला दक्षिण कोरियामा छिन् ।

गएको १४ नोभेम्बर बाट १७ नोभम्बरसम्म एसिसिएसी कोरियाको आयोजनामा सम्पन्न वन वल्र्ड वन फेम्ली कल्चरल फेष्ट २०१९का लागी त्यहाँ पुगेकी सीतालाई अन्य कार्यक्रमबाट पनि नृत्यका लागी अफर आइरहेका छन् । २५ देशहरुको सहभागीता रहेको वन वल्र्ड वन फेम्ली कल्चरल फेष्ट कार्यक्रममा आफ्नो एक खुट्टाद्धारा शास्त्रीय नृत्य देखाएपछि उनको प्रसंसा चुलिएको हो ।

यसैबिच सीतालाई कोरियामा अर्को ठुलो सफलता मिलेको छ । उनले डिसेम्बर ३ मा २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आयोजीत बिशेष कार्यक्रममा प्रस्तुती दिन पाएकी छिन् । कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बर्षेनी हुने कार्यक्रममा सीताले नेपालको तर्फबाट आफ्नो नृत्य प्रस्तुत गर्ने मौका पाएकी हुन् ।

कोरियाको सेवंग्नम सिटी हलमा आयोजीत कार्यक्रममा शारिरीक रुपमा बिभिन्न अपांगता भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा देश बाहिरको प्रतिनिधित्व नेपालबाट मात्र थियो । कार्यक्रम हुनुभन्दा केहि दिन अघि अर्को कार्यक्रमको सिलसिलामा कोरिया पुगेकी सीताको नृत्य देखेर उक्त कार्यक्रमका लागी बोलाइएको थियो ।

उनलाई कोरियाली नागरिकहरुले भब्य स्वागत पनि गरेका थिए । कार्यक्रममा कोरियाका अपांगता भएका थुप्रै ब्यक्तिहरुले ब्लाइन्ड डान्स, डेफ डान्स, विह्लचियर डान्स जस्ता प्रस्तुती भएका थिए । त्यसै बिचमा नेपालको तर्फबाट सीताले क्लासिकल वन लेग डान्स गरेकी थिइन् । उक्त डान्सबाट सीताले प्रसंसा बटुलिन् । सीतालेले नेपाली पोशाकमा नेपाली झण्डा फहराउदै एक खुट्टाले शास्त्रीय नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा प्रस्तुति सुन्दर भएकाले सबैजनाले उठेर सम्मान ब्यक्त गरेका थिए ।

सीताले कोरियाका त्यति ठूलो कार्यक्रममा नेपालको तर्फबाट आफूले प्रस्तुती दिन पाउनु आफ्नो लागी ठूलो अवसर रहेको बताइन् । ‘मेरो लागी यो ठूलो अवसर हो । त्यसो त यहाँ बाहिरी देशको प्रतिनिधित्व हुने गरेको थिएन तर यसपटक म यहाँ भएको र मेरो डान्सलाई मन पराएर स्वागत गरिदिनुभो अत्यन्तै खुसी छु ।’ सीताले टेलिफोनमा कुरागर्दै भनिन् । ‘यस कार्यक्रममा मलाई अवसर प्रदान गर्नुहुने किम योङ उ प्रती बिशेष आभार ब्यक्त गर्दछु ।’ किम योङ उ जो आफै कोरियाका विह्लचियर डान्सर तथा गुरु समेत हुन् ।

आजभन्दा २० बर्ष अघि बोन म्यारो क्यान्सर रोगका कारण सीताले एक खुट्टा गुमाउनु परेको थियो । सानैदेखी नृत्यमा रुचि राख्ने सीताले एक खुट्टा गुमाए पनि जीवनसँग हरेस नखाई निरन्तर संघर्ष गर्दै गइन् । एक खुट्टाले पनि नृत्य गर्न सक्छु भन्ने आँटले लामो अभ्यास पछि उनले अहिले लामो समयसम्म नृत्य गर्न सक्छिन् । अहिले उनी नृत्य प्रस्तुतीकै लागी देश तथा बिदेशका कार्यक्रममा ब्यस्त छिन् ।

२० मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको