९ दिनको उपचारपछि बालुवाटार फर्किए प्रधानमन्त्री


मङ्सिर २०, काठमाडौँ । प्रधानमन्त्री केपी ओली नौ दिनको उपचारपछि सरकारीनिवास बालुवाटार फर्किएका छन् ।

१० मंसिरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै लामो आराम गरेर बिहीबार डिस्चार्ज भएका हुन् । चिकित्सकले यो अवधिमा मनमोहन कार्डियो सेन्टरमै प्रधानमन्त्रीको नियमित डायलाइसिस पनि गरेका थिए ।

उपचारमा खटिएका चिकित्सकले एक हप्ता आरामपछि प्रधानमन्त्री ओली नियमित काममा सक्रिय हुन सक्ने बताएका छन् । ‘हामीले आशा गरेभन्दा पनि छिटो स्वास्थ्यलाभ गरेर प्रधानमन्त्रीज्यू फर्किनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो छ । घाउ पुरिन केही समय लाग्ने भएकाले तत्काल हिँडडुलमा भने समस्या हुन सक्छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले भनिन्, ‘अहिले नै अलिअलि काम गर्न र मिटिङ गर्न त सक्नुहुन्छ, तर शारीरिक रूपमा पूर्ण रूपमा फिट हुन अर्को हप्ता–दश दिनजति लाग्न सक्छ ।’

अर्का चिकित्सक प्रा.डा. अरुण सायमीले आफूहरू नियमित प्रधानमन्त्रीको फलोअपमै रहने बताए । ‘शुरूमा हामी सबैलाई चिन्ता लागेको थियो, तर यति चाँडै स्वास्थ्यलाभ गरेर उहाँ डिस्चार्ज हुनुभएको छ । सबैको शुभकामना र उहाँको आत्मबलबाटै यो सम्भव भएजस्तो लाग्छ,’ सायमीले भने, ‘बालुवाटार फर्किएपछि पनि हामी नियमित फलोअपमै हुनेछौँ । एक हप्ताजति आराम गरेर उहाँ पुनः नियमित काममा फर्किन सक्नुहुन्छ होला ।’

प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ भएकाले उपचारमा संलग्न चिकित्सकहरूले केही दिन आराम गर्ने सुझाबसहित डिस्चार्जको अनुमति दिएको मनमोहन कार्डियो सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।

निवास फर्किएपछि बिहीबार प्रधानमन्त्रीले पारिवारिक सदस्य र सचिवालयका सदस्यबाहेक कसैसँग भेट गरेका छैनन् । केही दिन नियमित काममा सक्रिय हुन नसके पनि बालुवाटारबाटै अत्यावश्यक जिम्मेवारी सम्पादन गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दैनिक अत्यावश्यकीय काम गर्न सक्ने गरी स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओलीनिवास फर्किएको बताए । नयाँ पत्रिकामा खबर छ ।

२० मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको