‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड पुगे देउवा निवास


मङ्सिर २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

बुधबार साँझ दाहालले देउवालाई फोन गरे – म तपाईं कहाँ भोलि बिहान चिया खान आउन खोजेको छु । देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानअघि दाहाल बूढानीलकण्ठ पुगे ।

बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो ।

त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबार बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

२०७६ मंसिर २०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको