बैशाख २३, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ ।
सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो ।
एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
पार्टीले ११ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको हाे ।
सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’
सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी , आदीबासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।
यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
हेरौ सहमतिको ९ बुँदे आधारपत्र
प्रतिक्रिया दिनुहोस