‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’


वैशाख २३, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा मधुसुधन तिमल्सिनाले लेखेका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए । साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि स्पष्ट पारे ।

हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनले आग्रहसमेत गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको जिकिर गरे ।

उहाँले लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्बन्ध हुने भएकाले समाजको सम्बन्धलाई मजबुत राख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको धारणा राख्नुभयो ।

उनले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउँदै पहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए ।

सरकारले गफ गरेको भन्नेहरूप्रति लक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पारे । ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ उनले भने ।

कार्यक्रममा सामाजिक संघसंस्थालाई सरकारले नियन्त्रण गर्न खोजेको गुनासो आएपछि मन्त्री बाँस्कोटाले सामाजिक संस्थाको सरकारले नियन्त्रण नभई नियमन मात्र गर्न खोजेको स्पष्ट पारे । उनले सामजिक संघसंस्थामा पनि पारदर्शिता आवश्यक रहेको बताए ।

“तपाईहरूलाई कानुनमा अप्ठेरो छ भने सरकार सच्याउन तयार छ तर वाह्य सहयोगबारे सरकारलाई जानकारी हुनुपर्छ । नेपालको सार्वभौम खलबल्याउने खेल पनि सामाजिक संघसंस्थाबाट देखिएका छन्, त्यसलाई के भन्ने ?” उनले प्रश्न गरे । सामाजिक संघसंस्थाको अबको आन्दोलन मुलुकको दिगो विकास लक्षित हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले संसदमा पेस भएका विधेयकले संघसंस्थालाई त्रसित बनाएको बताएका थिए ।

२३ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको