राहत दिउँ सेल्फी लिउँ


दिपा बुढा मगर । जो नसक्ने छ उहीँ सबैबाट ठगिने भने जस्तै भएको छ अहिले नेपालमा । नेपाली जनताले नालायक शासकहरुवाट पाएको सास्ती त छदैछ यति फेरि प्रकृतिले पनि दु:ख दिइरहेको छ ।

यस्तो बिपत्तिमा गरेको सहयोग अति सुन्दर काम हो जसले सहयोगी हातहरुको प्रशंसनीय कार्यलाई ती व्यक्तिको उदार मनलाई देखाउँछ ।

मन उदार हुनु नराम्रो होइन तर त्यसैलाई आत्मप्रशंसाको हतियार बनाउन थालियो भने नियतमा खोट देखिन्छ । यहि खोट देखिन्छ नेता देखि नेता पुत्र र कलाकारसम्म ।

२०७२ सालको भुकम्पले अहिलेसम्म अलिकति आरामले सास लिन नपाएको बेला नेपाली जनताले फेरि अर्को आपत्ति भोग्नु पर्‍यो ।

देश शोकमा छ । जे जति जनाले ज्यान गुमाए उनिहरु प्रति हार्दिक श्राद्दान्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना छ ।

आज यो आपत आईपरेको बेला विभिन्न संघ सस्थाले राहत बितरण गरिरहेको बेला विभिन्न दलका नेताले पनि आ-आफ्नो इच्छाअनुसार कसैले एकदिनको तलब दिन्छु, कसैले दुई दिन तलव दिन्छु, कसैले चार दिनको तलब दिन्छु भनेर वचन प्रतिबद्दता जनाएका छन् । यो उनिहरुको नौटकी र नालायकीपना हो ।

यदि यिनै नेताहरुले राम्रो देश बनाएको भए आज यसरी सहयोगको नाममा कसैले आत्मप्रशंसा बटुल्ने मौका समेत पाउदैनथ्यो होला । यसमा देशकै नेतृत्वको कमजोरी छ ।

नेतृत्व नालायक भएर नै देश खतम भएको हो । राडरकै कुरा गरौं, आजको २१ औं शताब्दीमा पनि मौसम पुर्व अनुमान बिभागसंग एउटा राम्रो आधुनिक राडरको ब्यबस्था छैन । यो बडो दुखको कुराको हो ।

म घरीघरी यो पनि सोच्छु कि हामी नेपाली जनताले अति दुख पाउनुको कारण यी फटाहा, मूर्ख, अनपढ र भिजन नभएका नेताहरुको हातमा शासन भएर हो । जनताको पसिनावाट प्राप्त भएको एक दुई दिनको तलव दिएर हामीलाई फकाउन उनिहरु आतुर छन् । त्यो तलव उनिहरुले त्यसै दिएका होइनन् । बाख्रालाई कसरी हरियो घाँस देखाउदै अचानोसम्म लगिन्छ र काटिन बाध्य पारिन्छ ?

अब पनि यी नेताहरुको चरित्र बुझेनौ भने हामी सधैं भुइँको भुइँमै हुन्छौँ र भेडा बाख्रा जस्तै काटिन्छौँ । प्रचण्ड काकाले एक बोरा चामलसँग आफ्ना सहयोगीहरुको साथमा बडो पोज मिलाएर खिचेको तस्विर बाहिर आयो । तस्विर हेर्दा नियोजित जस्तै लाग्छ ।

उता केपि काका पनि बारा र पर्साको आकाशमा तहलिन गएको खबर छ । राष्ट्र प्रमुखको हैसियतले तल जमिनमा झरेर जनतालाई मुखै मात्र देखाएको भएपनि ठिकै हुन्थ्यो । माथी माथी आकाशबाट पनि पीडितहरुको पीडा बुझ्न सकिन्छ होला त ?

तत्कालै प्रदेश सरकारले एउटा पनि पाल उपलब्ध गराउन नसक्नुलाई के संघीयता भन्नू ? यसो हो भने त देशले संघीयता पाएको के अर्थ भयो र ? संघीयताको मर्मानुरुप काम गर्न नसक्ने र सधैं काठमाडौको मुख मात्रै ताकेर बस्ने भए प्रदेश सरकारको अर्थ नै रहेन ।

अहिले एकातिर आत्मप्रशंसकहरुको भिड बारा र पर्सा तिर लागेको छ । चाहे त्यो सिताराम कट्टेल होस्, चाहे त्यो नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल होस्, चाहे उपराष्टपति पुत्र दिपेश पुन होउन् । उनिहरुका फेसबुकहरुमा पोष्ट भएका तस्विरहरुलाई नियाल्ने हो भने त्यो उनिहरुको आत्मप्रशंसाको लागि खिचिएको तस्विर होइन भनेर कसैले भन्न सक्दैन ।

अरु त अरु दातृ निकायले दिएको जस्तापाता, त्रिपाल हजाम पार्न लाज नमान्ने दलका नेता र तिनका आसेपासेहरुलाई राहत दिदै सेल्फी लिनु केको लाज भयो र । तर सहयोगीहरुको तस्बिर असम्बन्धित व्यक्तिले खिचेर उनीहरुको उदारताको प्रशंसा ग-या भए छुट्टै हुन्थ्यो तर आफैले पोजका पोज तस्बिरहरु सार्वजनिक गर्दा समाजसेवी कम, नौटंकी ज्यादा देखियो । सायद यो सेल्फिको जमाना भएर हो कि ?

२३ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको